रुसमा उमेर समूह अनुसार कोभिड–१९ विरुद्धको खोप सेवा उपलब्ध गराइने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनल रूसमा विकसित स्पुतनिक–भी नामक कोभिड–१९ विरुद्धको खोपलाई नागरिकको उमेर अनुसार सुरक्षित र प्रभावकारी बन्ने भएपछि यसको प्रयोगलाई अनुमति दिइने बताएका छन् । आफ्नो उमेर समूहका मानिसका लागि खोप सुरक्षित प्रमाणित हुँदासाथ आफूले पनि यसको प्रयोग गर्ने उनले बताएका छन् ।

रूसी राष्ट्रपतिले आफ्नो वार्षिक कार्यक्रमको समापनको सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा भने, “मलाई अझै खोप दिइएको छैन तर विज्ञको सल्लाहका आधारमा सम्भव हुने बित्तिकै यथाशीघ्र यो सेवा लिनेछु ।” रूस ‘कोभिड खोप आविष्कार गर्ने र उत्पादन गर्न शुरु गर्ने विश्वको पहिलो मुलुक’ बनेको दावी गर्दै पुटिनले भने, “रूसले उत्पादन गरेको स्पुत्निक खोप करिब ९७ प्रतिशत प्रभाबकारी रहेको रूसी विज्ञहरूले पुष्टि गरेका छन् ।”

गत अगस्टमा दर्ता गरिएको सोभयतकालीन चर्चित सेटेलाइट स्पुतनिक–भीका नाम राखिएको यस खोप विकासको पुटिनले प्रशंसा गरेका छन् । खोपको ठूला क्लिनिकल परीक्षण हुनुपूर्व नै रूसले खोप विकासमा सफलता पाएको भनी उनले नै घोषणा गरेका थिए ।

भ्याक्सिनका विकासकर्ताहरूका हालै प्राप्त क्लिनिकल परीक्षणको नतीजाले यो खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको देखाएको उल्लेख रूसले गरेको छ । यस महिनाको शुरूमा रूसले ठूलो मात्रामा सार्वजनिक खोप अभियान सुरु गरेको थियो जसले शुरूमा उच्च जोखिममा रहेका व्यक्तिहरूलाई कोभिड–१९ खोप उपलब्ध गराउँदै आएको छ । पुटिनले बिहीबार भने, “रूसले सन् २०२१ को सुरुमा ‘खोपको लाखौं मात्रा’ उपलब्ध गराइसक्नेछ ।”

रूसमा महामारी सुरु भएदेखि करिब ३० लाख व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हो । सङ्क्रमणको आधारमा अमेरिका, भारत, ब्राजिलपछि रूस चौथो बढी प्रभावित मुलुक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *