अनि कसरी पाइयोस् त समयमै लाइसेन्स ?

नारायण गाउँले ।
रघुवीर महासेठलाई चिन्नुहुन्छ ? एउटा लाइसेन्सको प्रिन्ट पाउन तीन वर्ष किन लाग्छ भन्ने थाहा छ ? चार वर्षअघि पनि यिनै महासेठ यातायात मन्त्री थिए । एउटा छाप्ने मेसिनकै ठेक्कामा ७० करोड़को घूस माग्दै गरेको अडियो नै बाहिर आएपछि राजीनामा दिएका गोकुल बाँस्कोटालाई त सम्झिनुहुन्छ ? पछि उनलाई न्याय दिने भन्दै पार्टीमा सुशासन तथा अनुशासन सिकाउने प्रशिक्षक बनाइएको भुल्नुभएको छैन होला । तपाईं मध्ये कतिले त प्रशिक्षण लिनुभएको पनि छ । महासेठको प्रसङ्ग पनि छपाइ मेसिनसँगै जोडिने हुनाले बाँस्कोटालाई सम्झिएको मात्र हो । स्मार्ट लाइसेन्स छपाउने ठेक्का भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स भन्ने कम्पनीसँग रहेछ । उसले सप्लाई गरेको मेसिनचाहिँ इटालीमा बनेको रहेछ । विश्व बैंकको सहयोग लिएर यो खरीद गरिएको रहेछ।

लामो समयदेखि करोडौं खर्चिएको मेसिन र ठेक्काले राम्ररी काम नगरेको त तपाईंले भोग्नुभएकै होला । लाइसेन्स हातमा नआउँदै नवीकरणको निवेदन दिनुपर्ने हामी धेरै छौं । ठेक्का एउटाले पाए पनि विभिन्न स्वार्थ र अर्थ अनुसार कार्ड छाप्ने जिम्मा अरूले पनि पाएका रहेछन् तर कसैले समयमा छापेको भने छैन ।

अब प्रसङ्गतिर जाऊँ । ठेक्का कसले कसरी पाउँछन् र मन्त्रीदेखि कर्मचारीसम्मले कसरी कति भाग खोज्छन् भन्ने विषय पनि छोड़म् ।
त्यो मेसिन चलाउने र सफ्टवेयरदेखि सिस्टम अपडेट र अपग्रेड गर्ने जिम्मा मद्रासकै हुनुपर्ने हो । तर उक्त मेसिन बिग्रिरहने, ह्याङ् हुने र चलाउन जान्ने मान्छे नै नभएको रिपोर्ट आएपछि चार वर्षअघि मद्रासलाई समाउनुको साटो सोझै इटालीको कम्पनीलाई सम्पर्क गरेर ’ट्रेनिंङ’को व्यवस्था मिलाइएको थियो । मेसिन चलाउन सिकाउने प्रयोजनले इटालीबाट मान्छे ल्याउँदा एक जनाको दिनकै पाँच लाख भन्दा बढ़ी खर्च हुने रहेछ । उतै गएर सिक्ने कुरो भयो ।कार्ड छाप्ने तालिम लिन प्रेसमैं काम गर्नुपर्ने प्राविधिकहरूको टोली इटाली जाने निर्णय भयो । मन्त्री थिए यिनै महासेठ । कागजपत्र बन्यो प्राविधिकका नाममा । तर इटाली गए सोमराज बराल भनिने यिनका स्वकीय सचिव ! जसको मेसिनसँग कुनै नातो थिएन । कुरो यत्तिमैं रोकिएन ।

मन्त्रीको साथ पाएपछि प्राविधिकलाई सिक्न पठाउने खर्चमा मन्त्रालयका सहसचिव र विभागीय प्रमुखहरू मात्रै त्यहाँ घुम्न पुगे । सहसचिव पनि प्रशासन शाखाका । जसले छाप्ने काम गर्न पर्ने हो, ती जान पाएनन्, हामीले लाइसेन्स पाउने कुरो भएन ।मन्त्रीका स्वकीय सचिव बोकेर तालिमको नाम र खर्चमा विदेश घुम्ने ती अप्राविधिक कर्मचारी पक्कै आज ठूलो पोस्टमा होलान् । तत्कालीन सहसचिव राजेश्वर ज्ञवाली, अर्की सहसचिव यातायात माहाशाखा प्रमुख प्रमिला बज्राचार्य, महानिर्देशक गोगनबहादुर हमाल र निर्देशक बन्धु बाँस्तोलाको पक्कै बढुवा र सम्मान भयो होला । तपाईंले चिन्नुहुन्छ भने भन्नुहोला । प्राविधिकको नाम काटेर मन्त्रीका पिए र आफ्नो नाम हाल्ने काम उही राजेश्वर ज्ञवालीले गरेका रहेछन् । रघुवीरका उनी नजिकका विश्वास पात्र हुन् । उनैको सम्पर्कले मद्रास प्रिन्टर्सले ठेक्का पाउने गरेको पत्रपत्रिकाले लेखेका छन् । हालै अन्तःशुल्कको स्टिकर छाप्ने ठेक्का पनि उसैले पाएको छ, जबकि लाइसेन्सको काम नै लथालिङ्ग छ । सहसचिवले मेसिन चलाउने कुरो भएन । चलाउन जान्ने मान्छे अर्को भएन । कम्पनीलाई दबाब दिन पनि मिलेन । प्राविधिक पठाउने ठाउँमा अरू नै पठाए पछि ।

त्यसयता अलिकति आशा लाग्दा वसन्त नेम्बाङ मन्त्री बने । तर सहसचिव उनै ज्ञवाली ! भनाभन नै भएको समाचार आएको थियो । लाइसेन्स त त्यही मद्रासकै जिम्मा थियो । किन छापिन्थ्यो र ? अहिले फेरि उनै रघुवीर महासेठ मन्त्री बने । पुरानो कार्यकालका लागि पुरस्कृत हुँदै सिङ्गो एमालेको प्रतिनिधित्व गर्दै । अब सुशासनको आशा गर्नुस् र लाइसेन्स हातमा आएको कल्पना गर्नुस् ! ढुक्कले निदाउनुस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *