काठमाडौँ । नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर ग्रामीण अर्थतन्त्र रूपान्तरण गर्ने उद्देश्यले ललितपुरको खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने भएको छ ।
बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेल, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि यु पेङचेङ र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले आइतबार उक्त केन्द्रको शिलान्यास गरेका छन् । कुल ३२ लाख रुपैयाँमा निर्माण हुने तालिम केन्द्रमा स्थानीय, प्रदेश सरकार र चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको सहकार्य हुने जनाइएको छ ।
सोही अवसरमा स्थानीय कृषक समूहलाई प्रविधि र अन्य प्राविधिक विषय ज्ञान प्रदान गर्न उच्चस्तरको तालिम सुरुवात गरिएको छ । चीन सरकारको ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा सहकारी विकास केन्द्र–नेपाल भाइब्रेन्ट भिलेज’ पहलअन्तर्गत सञ्चालित यो परियोजनाले ललितपुर महानगरपालिकाको खोकना र दक्षिणकाली नगरपालिकामा कृषि आधुनिकीकरणमा नमूना क्षेत्रका रूपमा सहकार्य गर्ने लक्ष्य राखेको छ ।
मन्त्री पौडेलले तालिम केन्द्र सञ्चालनमा आएपछि किसानलाई प्राविधिक ज्ञान दिलाउन र रोजगारी सृजनामा महत्त्वपूर्ण भूमिका गर्ने विश्वास व्यक्त गरे। चीनले कृषि प्रविधिमा मारेको फड्कोबाट नेपालले पनि लाभ लिन चाहेको उनले बताए ।
त्यसैगरी चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नेपालकी निर्देशक सु झियाङले यसप्रकारको सहकार्यले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने र दिगो कृषि प्रणालीको जग बसाल्ने बताइन् । निर्देशक झियाङले समग्र परियोजना आधुनिक कृषि प्रणालीको विकास गर्न लक्षित भएको बताइन् ।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले चितवनमा हाइब्रिड धान, झापामा मत्स्यपालन र पशुपालनजस्ता परियोजना सञ्चालन गरिसकेको छ । चिनियाँ सहकार्यमा भएको यस कार्यक्रमअन्तर्गत खोकना र दक्षिणकालीमा रैथाने बालीको प्रवद्र्धन, बेमौसमी तरकारी उत्पादन र जीवन्त गाउँको निर्माणमा योगदान पुगेको ललितपुर महानगरपालिका–२१ का अध्यक्ष रवीन्द्र महर्जनले बताए ।
समारोहमा चिनियाँ पक्षबाट अत्याधुनिक खेतबारी जोत्ने मेसिन ललितपुर महानगरपालिका वडा नं २१ को कृषक समूहलाई हस्तान्तरण गरियो । रिमोट कन्ट्रोलबाट चल्ने सो मेसिनले एक घण्टामा एक हजार वर्गमिटर जोत्न सक्ने र इन्धनको पनि कम खपत हुने चिनियाँ प्राविधिकहरूले जानकारी दिएका छन् ।
यसप्रकारका तालिम र प्राविधिक सहकार्यमा चिनियाँ विशेषज्ञ र अनुसन्धानकर्ताहरूको प्रत्यक्ष रेखदेख र संलग्नता रहने आयोजकले जनाएको छ । यस आयोजनाले ६० भन्दा बढी किसान परिवारलाई प्रत्यक्ष लाभान्वित तुल्याएको छ ।
सो अवसरमा स्थानीय महिला समूहले हातले बुनेका जुत्ता, स्थानीय मिठाइ र परियोजनाअन्तर्गत उत्पादन गरिएका ताजा तरकारी प्रदर्शन गरेका थिए ।
