म्याड्रिड डर्बीमा रियल म्याड्रिड विजयी

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको म्याड्रिड डर्बीमा रियल म्याड्रिड विजयी भएको छ । शनिबार राती भएको खेलमा रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन केसेमिरोले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफको १५ औँ मिनेटमा टोनी क्रुसको कर्नर क्रसमा केसेमिरोले हेडिङ गोल गर्दै रियल म्याड्रिडलाई खेलमा अगाडी बढाएका थिए । पहिलो हाफको पूरा समय आफ्नो पकडमा राखेको रियलले एथ्लेटिको म्याड्रिडलाई गोल गर्ने कुनै अवसर सिर्जना गर्न दिएन ।

यस्तै ६३ औँ मिनेटमा रियल म्याड्रिडले अग्रता दोब्बर बनायो । डानी कार्भाहालले पेनाल्टी क्षेत्र बाहिरबाट हानेको प्रहार पोस्टमा लाग्दै एथ्लेटिको म्याड्रिडका गोलरक्षक जान ओब्लाकलाई लागेर गोल भएको थियो । दोस्रो हाफको अन्त्यमा एथ्लेटिकोले गोल गर्ने केही अवसर सिर्जना गरेपनि रियलका गोलकिपर कर्टियस बाधक बने । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल म्याड्रिड २-० गोल अन्तरले विजयी भएको हो ।

यससँगै एथ्लेटिको म्याड्रिडले यस सिजन ला लिगामा पहिलो हार बेहोरेको छ । गत फेब्रुअरीमा रियल म्याड्रिडसँग पराजित भएयता एथ्लेटिको घरेलु लिगमा अपराजित थियो । जितसँगै रियल म्याड्रिड १२ खेलमा २३ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पराजित एथ्लेटिको म्याड्रिड ११ खेलमा २६ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *