काठमाडौं । राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको २२ भइसकेको छ । अहिलेसम्म त्यो घटना रहस्यमै छ । तर पूर्वराजा ज्ञानेन्द्र शाहले दलका नेतालाई लक्षित गरी कुनै अभिव्यक्ति दिएपछि दरबार हत्याकाण्डकाबारेमा ठूलै हलचल हुने गरेको छ । अहिले पनि त्यस्तै भएको छ । हत्याकाण्ड पूर्वराजा ज्ञानेन्द्रको परिवारले घटाएको भन्दै आरोप लाग्दै आएको थियो । २२ वर्षसम्म उनी यसबारे मौन बसेका थिए । तर गत शनिबार वीरगंजमा आयोजित कार्यक्रममा पूर्वराजाले यसबारे मुख खोलेका छन् । राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको भन्दै उनले आफूहरूलाई त्यसबेला घातक प्रहार भएको बताएका छन् । उनले भनेका छन्, ‘२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो । सत्य सधैं सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन । हाम्रामाझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’
पूर्वराजाको यो अभिव्यक्तिपछि राजनीतिक दलका शीर्ष नेता प्रतिवादमा उत्रेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र कुशका मात्र राजा रहेको प्रतिक्रिया दिएका छन् । उनले तत्कालीन युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो भन्ने वाहियात भएको बताए । उनले भने, ‘त्यो षड्यन्त्रले तत्काल राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्यो । राजतन्त्र समाप्त गर्यो । ‘ज्ञानेन्द्र शाह राजा होइनन् । बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा हुन् ।’
प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पूर्वराजाको भनाईप्रति आपत्ति जनाएका छन् । सोमबार सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । पूर्वराजाले बोल्नै नहुने कुरा बोलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ’पूर्वराजाले जे बोलेका छन्, बोल्नै नहुने कुरा बोलेका छन् । दरबार हत्याकाण्डबारे फेरि एकपल्ट छानबिनतिर सरकार अघि बढ्दैछ ।’
दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा सभामुख तारानाथ रानाभाट र तत्कालीन विपक्षी दलका नेता तथा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल सदस्य रहेको उच्चस्तरीय छानबिन समिति बनाएका थिए । तर, एमाले नेता नेपालले समितिमा बस्न अस्वीकार गर्दै राजीनामा दिएपछि प्रधानन्यायाधीश उपाध्याय र सभामुख रानाभाटको दुई सदस्यीय समितिले घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाएको थियो । तर, त्यो प्रतिवेदन जनमानसले पत्याएको थिएन । उच्चस्तरीय छानबिन समितिले एक सातामै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा लागुपदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्रले घटना घटाएको निष्कर्ष थियो । प्रेमिका देवयानीसँग बिहे गर्न परिवारले स्वीकृति नदिएपछि नशाको सनकमा दीपेन्द्रले आफ्नै परिवारका सदस्यको गोली हानेको निष्कर्ष छानबिन समितिको थियो । घटनामा गोली लागेर अचेत भएका दीपेन्द्रको पनि दुई दिनपछि २१ जेठमा वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको घोषणा गरिएको थियो । दरबार हत्याकाण्डको २२ वर्ष बितिसक्दा पनि सो घटना अझै रहस्यमै छ । दरबार हत्याकाण्डकी एक साक्षी तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहकी पत्नी प्रेक्षा २३ कात्तिक २०५८ मा रारातालमा हेलिकोप्टर दुर्घटनामा परेर बेपत्ता भइन् । उनी दुर्घटनामा पर्दा दरबार हत्याकाण्ड भएको करिब साढे पाँच महिना मात्रै बितेको थियो । दुर्घटना हुँदा हेलिकोप्टरमा ६ जना सवार रहेका र तीमध्ये तीन अझै हराइरहेका सरकारी अध्ययन–प्रतिवेदनमा उल्लेख छ । तर, को–को हराइरहेका छन् वा क–कसको मृत्यु भयो, केही खुलाइएको छैन । दुर्घटनाबारे दुई छुट्टाछुट्टै विवरणले पनि घटनालाई रहस्यमयी र शंकास्पद बनाएको छ ।
हुन त यसअघि पनि दरबार हत्याकाण्डको छानबिन गर्ने कुरा नआएको होइन । तर ती कुरामा मात्र सीमित छ । जब पूर्वराजाबाट कुनै अभिव्यक्ति आउँछ, त्यसपछि यस्ता कुरा उठ्ने गरेका छन् । गत मंसिरमा गुल्मीमा आयायोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्रलाई मूर्ति चोरको आरोप लगाउँदै पूर्वराजाले धर्मको रक्षा गर्नै नसक्ने ठोकुवा गरेका थिए । उनको यो अभिव्यक्ति निकै आलोचित बनेको थियो । अहिले पनि पूर्वराजाको अभिव्यक्ति, अनि पूर्वराजासँग दुर्गा प्रसाई, राप्रपाका नेताहरुको भेटघाटपछि दलहरु संशंकित भएर यस्ता अभिव्यक्ति आएका हुन् ।
कुरा सोह्रै आना मनासिव हो की नेताहरु गगन थापादेखि केपी ओली र प्रचण्डलाई ज्ञानेन्द्र शाह मन पर्दैन । झन् पूर्व राजा शाहले जिल्ला जिल्ला घुमेर विशाल जनसमुहको समर्थन र अभिननदन पाएको यथार्थले उनीहरुलाई सहिनसक्नु वेचैनी भएको होला । कुरा सत्य हो, देशको शाहवंशीय राजसंस्थाका सबैभन्दा लोकप्रिय राजा वीरेन्द्रको वंशविनास गर्ने २०५८ जेठ १९ को नारायणहिटी नरसंहार आजका दिनसम्म रहस्यकै गर्भमा रहनु सबैका लागि दुखद हो । २०६५ जेठ १५ मा देश संघीय लोकतान्त्रिक गणतन्त्र भए यताका डेढ दशकमा सत्ताको केन्द्रमा कांग्रेस छ । सत्ताको नेतृत्वमा आलोपालो केपी ओली, प्रचण्डहरुले नै गरिरहेका छन् । अनि खुरुक्क छानबिन समिति बनाएर दरबार हत्याकाण्ड छानबिन गरे त भैहाल्यो नी । दुई दुई पटक सत्तामा बस्दा दरबार हत्याकाण्ड छानबिनका लागि केपी ओली किन मौन बसे ? अहिले पनि संसदमा मुख्य विपक्षी संसदमा विशेष प्रस्ताव लगेर सरकारलाई यो हत्याकाण्डको छानबिनका लागि बाध्य पार्न किन नसकेको होला त ?
दरबार हत्याकाण्डको छानबिन गर्न बहालवाला प्रधानमन्त्री प्रचण्डलाई समेत के ले रोक्यो, छेक्यो होला त ? ओपन सेक्रेट छ, पछिल्ला दिनमा पूर्वराजा शाहले आफूले श्रीपेच सरकारलाई दिनु र दरवार छाडनुको हिसाबकिताब माग्न थालेका छन् । उनले यो हिसाबकिताब माग्दा हजारौं नागरिकले र थपडी बजाएका दृश्यहरु यत्रतत्र देखिएका छन । आफू र आफ्ना परिवारमाथि दरबार हत्याकाण्डलाई जोडेर भ्रम फैलाईएको भन्ने पूर्वराजा ज्ञानेन्द्रको स्पष्टीकरणले पनि गगन, ओली र प्रचण्डहरुलाई रिस उठाएको हो भने यो झन् उनीहरुलाई छानबिन गर्न सहज मौका हो । त्यसैले पूर्वराजालाई सत्ताको शिरमा बसेर गाली हैन, छानबिनको दायरामा ल्याउने हिम्मत गगन, ओली र प्रचण्डहरुले गर्ने हो की ?
