कांग्रेसका आश राखेका नेताहरू कसको रिझ्याइँका लागि हो यस्तो गर्दैछन् ?

जेपी गुप्ता ।
मैले बीपीलाई पढ्दा सर्वाधिक मन परेको एक वाक्यांश याद आउँछ । आफ्नो जन्मको बारे लेख्नु हुन्छ–’मेरो जन्मसँगै म मा आयुर्विज्ञानको प्रवेश भयो । आमाको सहज प्रसव बेदनाबाट म जन्मिन तयार भइन । शायद मैले विद्रोह गरें । यसपछि मेरो परिवारमा प्रसवका लागि पहिलो पटक पिताजीले आयुर्विज्ञानको सहयोग लिनु भयो । संभवतः यसै कारणले पनि होला म मा जन्मदै विद्रोहको भावनाले प्रवेश पायो।’

उपयुक्त कुरा बीपीले आफ्नै कलमबाट लेख्नु भएको हो । आजभोलि रवीन्द्र मिश्रजीहरूले पढ्ने गरेको बीपीको कथ्य होइन यो । म र म जस्ता अनेकौ तत्कालिन युवाहरूले बीपीका यस्ता रोमांचक कथनहरू पढेर अर्कोतिर उज्यालो नदेखिने सुरूङको जस्तो प्रजातान्त्रिक आन्दोलनमा लागेका थियौं । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आदि कुराहरू त पछि पट्यारलाग्दो किसिमले पढेको हुँ । शेरबहादुर देउवा, रामचन्द्र पौडेलजीहरू त अझ हामी भन्दा निकै पहिले बीपीका यस्ता क्रान्ति चेतबाट प्रभावित भएको हुनपर्छ–मेरो यस्तो अनुमान हो। यसरी बन्दै गएको थियो आजका कांग्रेसजनहरूका कांग्रेस ।
त्यस कांग्रेसमा आजको चेत्त कस्तो छ त ? मेरो यस पोष्टमा मैले तल राखेको एक प्रतिनिधिमूलक ‘तस्बिर’बाट बुझ्न खोजौं ।

म आलोचनका लागि यो लेखेको हैन । कदापि पनि । यसमा बुराई वा निन्दनीय पनि केही छैन। तर हेर्दा मज्जा लाग्छ कि नेपाली कांग्रेसक आजका धेरैले आश राखेका नेताहरू खै कसको रिझ्याइँका लागि हो भारतका हिन्दू आराधना स्थलहरूलाई यहाँ नेपाल भित्र आपसमा बाँडेका छन् । अखबार, पत्रपत्रिकामा जताततै देखिन्छ। मधेसबाट उदाएका एक प्रमुख नेता विमलेन्द्र निधीले अयोध्यासम्म कालीगण्डकीबाट ल्याइएको अजंगे ढुंगोलाई पुर्याउन जोडतोडका साथ लागे । अहिले उतै कतै हुनुपर्छ । डा.शेखर कोइरालाले किस्किन्धाबाट आई नेपाल छिरेका श्री हनुमद् रथयात्रालाई ‘नेपाल यात्रा’ मा रूपान्तरित गरेका छन् । होनहार ठानिएका शशांक कोइराला–जाज्वल्यमान युवा नेता शंकर भण्डारीहरूले गोरखमठलाई तारणहार बनाएका छन् । गुरू गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको पाउमा खस्दा–’यो पाउँ जहाँ जहाँ पुग्छ, त्यो स्थान विजयी हुनेछ।’ भन्ने मिथकीय इतिहासबाट अनुप्राणित भई संघीयता तथा गणतन्त्रलाई खतम बनाउन गोरखमठलाई परमधाम बनाएका छन् । साथै फेरि आरजु म्याडमजीले चौथाईबालेलाई उतिकै श्रद्धावत् स्तुत्य बनाउनु भएको छ । यस्ता उदाहरणहरू लामै हुन सक्छ । त्यो बीपीहरूले सिर्जेको कांग्रेसको क्रान्तिचेत अहिले मुलुकमा सम्पन्नता तथा समुन्नतिको लागि यस्तो अभियानमा लागेको छ। यी सब करतूतहरूको किन आलोचना गर्नु ? शायद‘ कहीँ त पुग्न खोज्दैछ कांग्रेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *