काठमाडौं । सरकारको एक मात्र डाटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सञ्चालनमा रहेका करिब तीन हजार पाँच सय वेबसाइटमा एकै पटक समस्या आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका केन्द्रबाट सञ्चालनमा रहेका सबै सरकारी वेबसाइटमा आइतबार र सोमबार समस्या आउँदा सेवाग्राही समस्यामा परेका हुन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले केन्द्रमा साइबर आक्रमणको प्रयास भएको र ह्याकरले केन्द्रको सर्भरमा एकै पटक धेरै ट्राफिक पठाएकाले यस्तो समस्या आएको बताए। “सर्भरमा डोमेन नेम सिस्टम (डिएनएस) भन्ने हुन्छ । त्यसमा समस्या आउँदा डिएनएस अवरुद्ध भयो । त्यसो गर्दा सेन्टरको सेवा अवरुद्ध भएको हो,” उनले भने।
उनले ह्याकरले भिपिएन प्रयोग गर्ने भएकाले आक्रमण कहाँबाट भयो भन्न नसकिने र सो कुरा महत्वपूर्ण पनि नभएको बताए । “सर्भरमा आक्रमण नहुने भन्ने हुँदैन । साइबर आक्रमण जस्तोसुकै सुरक्षित सर्भरमा पनि हुने गर्छ । जोखिम कम गर्न डाटा सेन्टरको प्रविधि र जनशक्तिमा पर्याप्त लगानी बढाउनु पर्छ,” उनले भने ।
उनका अनुसार यस्तो समस्या आउन नदिन जगेडा सर्भर (मिरर सर्भर) राख्नु पर्छ तर त्यस्तो सर्भर नहुँदा सरकारी वेबसाइटहरू असुरक्षित भएका हुन् । “एक ठाउँको सर्भर डाउन भएमा अर्को स्थानमा रहेको जगेडा सर्भर सञ्चालन गर्ने विषयमा हामी चुकेका छौँ । यस्तो अवस्थामा सेवा अवरुद्ध हुन नदिन दुई/तीन ठाउँमा डाटा सेन्टर राख्ने गरिन्छ,” कार्यकारी निर्देशक पौडेलले भने। उनका अनुसार भूकम्प वा अन्य प्राकृतिक विपत् हुँदा समस्या नहोस् भनेर त्यस्तो सर्भर बेग्लै भौगोलिक स्थान र दुरीमा राख्नु पर्दछ तर त्यसका लागि बजेटको अभाव छ ।
पौडेलले भने, “राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गरेर सूचना प्रविधि विभागमा गाभ्ने भनेर सरकारको नीति आएपछि हामीलाई पुँजीगत बजेट आएको छैन । सिस्टम किन्ने, अपडेट गर्ने, लाइसेन्स नवीकरण गर्ने/चलाउनेलगायतका विषयमा बजेट आएको छैन । बजेट नहुँदा त्यस खालका काम केन्द्रले गर्न पाएको छैन ।”
केन्द्रले हेटौँडाको डाटा सेन्टरमा अनलाइन नभई अफलाइन मात्र डाटा भण्डार गर्ने गरिएको छ । काठमाडौँमा रहेको डाटा सेन्टर डाउन हुँदा हेटौँडाको डाटा सेन्टरबाट चल्ने बनाउने भनिए पनि सो हुन सकेको छैन । खुमलटार र कोहलपुरको नयाँ डाटा सेन्टरमा पनि बजेटकै समस्या छ र कुनै प्रक्रिया अगाडि बढेको छैन ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले सरकारका वेबसाइट रियल टाइम चौबिसै घण्टा निगरानी गर्ने सिस्टममा बस्ने सर्भिलेन्स टिमले आइतबार समयमै साइबर आक्रमणको प्रयास भइरहेको भन्ने जानकारी दिएको बताए। “सर्भर डाउनको समस्या समाधान गर्न प्राविधिक टोलीले पहल गरिरहेका छन् । यसो हुनुको कारण पहिचान पनि भएको छ । यो समस्या केही समयमा समाधान हुन्छ । काठमाडौँको सर्भर हेटौँडामा रियल टाइममा मिररिङ हुनु पर्छ । यसतर्फ हामी छिट्टै लाग्छौँ,” उनले भने।
प्रवक्ता सुवेदीले साइबर स्पेसमा यस्तो समस्या कहिलेकाहीँ आउने भन्दै केन्द्रलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रमा सरकारका विज्ञहरू बस्ने र बाहिरका विज्ञहरू पनि रहने ‘हाइब्रिड’ मोडेलमा काम अगाडि बढेको जानकारी दिनुभयो । यसका लागि ओएनएम अध्ययन प्रतिवेदन अर्थ दिए पुगेको र एक/दुई दिनमै टुङ्गिने जानकारी आफूले पाएको उनले बताए ।
प्रवक्ता सुवेदीले केन्द्रको मात्र नभई अहिले पाँच/सात वटा निकायको समेत बजेट रोक्का भएको जानकारी दिए। “सर्भरमा समस्या आएपछि समस्या टुङ्ग्याउनेतर्फ जाने हो । बजेट आएन भनेर केन्द्रले त्यसै बस्न मिल्दैन,” प्रवक्ता सुवेदीले भने ।
साइबर सुरक्षाविद् राजनराज पन्तले सर्भरको सुरक्षाका लागि फाइयरवाल, डिडस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस अट्याक) सुरक्षा सेवाका साथै विभिन्न सुरक्षा कवच सेवा विश्वासिलो कम्पनीबाट लिनुपर्ने बताए। उनले बारम्बार साइबर आक्रमणबाट केन्द्रको सर्भर डाउन हुनु भनेको राम्रो नभएको बताए। उनले उपयुक्त सुरक्षा प्रणालीका साथै दक्ष प्राविधिक विज्ञ राख्न सुझाव दिए । गोरखापत्र दैनिकमा खबर छ ।
