काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा चितवन एफसीले विजयी शुरुवात गरेको छ । शुक्रबार बेलुकी भएको रोमाञ्चक खेलमा वीरगन्ज युनाइटेड एफसीलाई २–१ गोलले हराउँदै चितवनले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनलाई जत दिलाउन विमल घर्तिमगर र टोरिक जेब्रिनले गोल गरे । वीरगन्जका आइकिन्स बाफोरले एक गोल फर्काएका थिए । खेलको २८ औं मिनेटमा विमलले गोल गर्दै चितवनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
५५औँ मिनेटमा आइकिन्स बाफोरले गोल गर्दै वीरगन्जलाई खेलमा फर्काएका थिए । यस्तै ६८औँ मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै चितवनलाई २-१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा चितवन २-१ गोलले विजयी भएको हो ।
नेपाल सुपर लिगको इतिहामै चितवनको यो पहिलो जित हो । पहिलो संस्करणमा ६ खेल खेल्दा पनि चितवनले जित निकाल्न सकेको थिएन । जितसँगै चितवनले तीन खेलबाट चार अंक जोडेको छ ।