प्रज्जवल थापा । युभेन्टसका सुपरस्टार क्रिस्ट्यानो रोनाल्डोले आज बेनेभेन्टो विरुद्धको खेल गुमाउने भएका छन् । प्रशिक्षक एन्द्रे पिर्लोले रोनाल्डोलाई आजको खेलमा विश्राम दिने निर्णय गरेका हुन् ।
३५ वर्षिय रोनाल्डो यहि महिना भएको अन्तराष्ट्रिय ब्रेकमा पोर्चुगलको लागि सबै ३ खेल खेलेका थिए । पोर्चुगल विश्व विजेता फ्रान्ससँग पराजित हुँदै युईएफए नेसन्स लिगको समुहचरणबाटै बाहिरिएको थियो । त्यसपछी रोनाल्डोले क्लबको लागि काग्लियरी र फेरेन्सभारोसविरुद्ध पुरै ९० मिनेट खेलेका थिए । क्याग्लियरी विरुद्ध दुई गोल गरेका रोनाल्डोले फेरेन्सभारोस विरुद्ध एक गोल गरेका थिए । रोनाल्डो र अल्भारो मोराटाको गोलमा युभेन्टस फेरेन्सभारोसलाई हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।
नोभेम्बरको शुरुवात देखि लगातार ८ खेल खेलेका रोनाल्डोलाई विश्राम दिएको प्रशिक्षक पिर्लोले बताए । युभेन्टस टिभीमा बोल्दै पिर्लोले भने,” रोनाल्डो लगातार खेलिरहेका कारण उनी थकित थिए । त्यसैले सहमतीमै उनलाई बेनेभेन्टो विरुद्धको खेलमा विश्राम दिएको हो ।” यस्तै पिर्लोले रोनाल्डो घाइते नभएकोपनि जानकारी थिए ।
रोनाल्डोको अनुपस्थितिमा मोराटा र डबेलाले फर्वार्ड लाइनमा शुरुवात गर्ने सम्भावना छ ।
