आज बेनेभेन्टो र युभेन्टस भिड्दै

प्रज्जवल थापा । इटालियन सिरि ए लिगमा आज साविक विजेता युभेन्टसले बेनेभेन्टोको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १०:४५ बजे शुरु हुनेछ ।

युभेन्टस आजको खेल जित्दै शिर्ष स्थानमा रहेको एसी मिलानसँग अङ्क दुरि घटाउन चाहन्छ । युभेन्टस मिलान भन्दा ४ अङ्कले पछि छ । हाल युभेन्टस ८ खेलमा १६ अङ्क जोड्दै चौथो स्थानमा छ । युभेन्टस बेनेभेन्टोलाई हराउँदै अपराजित यात्रामा निरन्तर दिन चाहन्छ । युभेन्टस गत मंगलबार फेरेन्सभारोसविरुद्ध अन्तिम मिनेटमा गोल गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको थियो ।

यता बेनेभेन्टोले सिरि ए को पछिल्लो खेलमा फोरेन्टिनालाई हराउँदै सबैलाई आश्चर्यमा पारेको थियो । यसअघि बेन्भेन्टो सबै प्रतियोगिता गरि लगातार ५ खेलमा पराजित भएको थियो । त्यसैले आज घरेलु मैदानमा हुने खेलमापनि बेनेभेन्टो युभेन्टसलाई चकित पार्ने लक्ष्यमा हुनेछ ।

आजको खेलमा प्रशिक्षक आन्द्रे पिर्लोले आफ्नो प्रमुख खेलाडी स्टार क्रिस्ट्यानो रोनाल्डोलाई विश्राम दिएका छन् । त्यसैले आजको खेलमा रोनाल्डो उपस्थित हुनेछैनन् । ३५ वर्षिय रोनाल्डोले यस सिजन सिरि ए को ६ खेलमा ८ गोल गरिसकेका छन् ।

सबै प्रतियोगिता गरि पछिल्लो ५ खेलमा युभेन्टस अपराजित रहेको छ भने बेनेभेन्टोले ५ खेलमा मात्र १ जित निकाल्दा बाँकी ४ खेलमा पराजित भएको छ । दुई टोलीबिच भएको अन्तिम २ खेलमा दुवै खेल युभेन्टसले आफ्नो पोल्टामा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *