प्रज्जवल थापा । विश्व फूटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नँया वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार जारी गरेको नँया वरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ रहेको छ ।
यहि महिना बंगलादेशमा घरेलु टोलीसँगको भएको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिजमा पराजित भएपछि नेपालको वरियता खस्किएको हो । बंगलादेशसँग नेपाल पहिलो खेलमा २-० गोल अन्तरले पराजित हुँदा दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले वरियतामा ३ स्थान सुधार गर्दै १८४ औँ स्थानमा उक्लिएको छ । यस्तै दक्षिण एसियायी राष्ट्रमा भारत शिर्ष स्थानमा छ । माल्दिभस दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ ।
फिफा वरियताको शिर्ष ६ स्थानमा भने कुनै परिवर्तन भएको छैन । बेल्जियाम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङल्याण्ड चौथो, पोर्चुगल पाँचौ र स्पेन छैटौं स्थानमा यथावत छन् । अर्जेन्टिना एक स्थान सुधार गर्दै सातौँ स्थानमा उक्लिदा उरुग्वे एक स्थान तल झर्दै आठौँ स्थानमा रहेको छ । मेक्सिको र इटाली २/२ स्थान सुधार गर्दै क्रमश: नवौँ र दसौँ स्थानमा उक्लिएका छन् ।
