शारदाप्रसाद त्रिताल ।
विधिको शासन र जवाफदेहिता प्रजातन्त्रका आधारभूत तत्व हुन् । कुनै राष्ट्र सेवकको सरुवा गर्ने विषय सामान्य प्रक्रिया हो ।तर कानुन र परम्परा मिचेर कुनै राष्ट्र सेवकको सरुवा हुन्छ भने त्यो गलत विषय हो । अझ त्यसमा पनि कुनै राष्ट्रसेवकले इमानदारीपूर्वक काम गरिरहेको अवस्थामा राम्रो काम गरेको कारणले नै कुनै व्यक्ति विशेषलाई बाधा पुग्न गएको अर्थ लगाई सरुवा गरिन्छ भने त्यो गम्भीर विषय हो ।
काठमाण्डौ जिल्ला अदालतका एक न्यायाधीशलाई केही तथाकथित प्रभावशालीलाई थुनामा राख्ने आदेश गरेको आधारमा समय नै नपुगी दण्डित गरेको अर्थ लाग्ने गरी सरुवा गरिएको भन्ने कुरा बाहिर आएको छ । यदि यो घटना साँच्चै हो भने अत्यन्त गम्भीर विषय हो । यस कार्यले आगामी दिनमा अपराध नियन्त्रण र सुशासन कायम गर्ने बाटोमा निकै ठूलो असर पार्नेछ । राम्रो काम गर्ने न्यायाधीशको मनोबल गिराउनेछ र अपराधीहरुले स्वतः उन्मुक्ति पाउने वातावरण अरु बढ्नेछ ।
यसमा मुख्यतः कानुनमन्त्रीज्यूको कारणबाट यो कार्य भएको भन्ने आरोप लागेको छ । प्रजातान्त्रिक भनिएको पार्टीको केन्द्रीय उपसभापति नै कानुनमन्त्री भएको बेला यस्तो आरोप लाग्नु अझ गम्भीर विषय हो । हामीले पढेको र जानेको के हो भने कानुन वा विधिको शासन र जवाफदेहिता नै प्रजातन्त्रको मूल मर्म हो । यदि कानुन मन्त्रीज्यूले आफूलाई प्रजातान्त्रिक व्यक्ति हुँ भन्ने विश्वास दिलाउन चाहनुहुन्छ भने यस आरोपको विश्वसनीय जवाफ दिनैपर्छ । अन्यथा मन्त्रीज्यूले दाइभाउजु कम्पनीको दासत्व स्वीकार गरेको अर्थ लाउनुपर्ने हुन्छ ।
