‘अपराधी’लाई आममाफी दिन कम छैनन् कुनै दल

काठमाडौं । पहिलो संविधानसभामा माओवादीबाट सभासद भएका बालकृष्ण ढुंगेललाई २०६६ सालमा सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सर्वोच्चले त्यति बेला जिल्ला अदालतकै फैसला सदर गरेको हो । जिल्ला अदालत ओखलढुंगाको फैसलाका आधारमा साढे सात वर्ष जेल बसेपछि ढुंगेलले पुनरावेदनबाट सफाइ पाएका थिए । सफाइ पाएर जेलमुक्त भएकै बेला उनी सभासद चुनिए । त्यसैबीच उक्त मुद्दा सर्वोच्च पुगेको थियो । सर्वोच्चले जिल्ला अदालतको जन्मकैद सजाय सदर गर्यो । तर ढुंगेल पक्राउ परेका थिएनन् । बाबुराम भट्टराई नेतृत्वको सरकारले ढुंगेललाई आममाफीको प्रक्रिया अघि बढायो । तर त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भयो । त्यसपछि बल्ल २०७४ कात्तिकमा बाँकी सजाय काट्न उनी पक्राउ परे । जन्मकैदमा २० वर्ष सजाय हुन्थ्यो । ढुंगेललाई डिल्लीबजार कारागारमा राखियो । तर कर्तब्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका ढुंगेललाई बाँकी कैद मिनाहा गर्न २०७५ जेठमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्यो । त्यसपछि ढुंगेल गणतन्त्र दिवसका अवसरमा २०७५ जेठ १५ गते माफी पाएर रिहा भए । ढुंगेल रिहा भएपछि नेकपा एमालेले उनलाई महाधिवेशन प्रतिनिधि मनोनित गर्यो । तर ढुंगेलको शौचालयमा लडेर गतवर्ष निधन भइसकेको छ ।

त्यसैगरी नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी गतवर्ष अर्थात् २०७९ असोज ३ गते संविधान दिवसमा माफी पाएर रिहा भए । २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै संविधान दिवसका अवसरमा माफी पाएर रिहा भएका हुन् । प्यासी शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा माफी पाएर रिहा भएका हुन् ।

त्यस्तै नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भएका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसी २०७७ साल फागुनमा प्रजातन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाहा गरि रिहा गरियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा उनीहरुले माफी पाएका हुन् । उनीहरुले २०६८ सालको पुसमा जिल्ला कारागार चितवनभित्र पौडेलको हत्या गरेका थिए ।

टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका रेशम चौधरी गत जेठमा आममाफी पाएर रिहा भए । प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा चौधरी रिहा भएका हुन् । त्यस्तै यसवर्षको संविधान दिवसमा पनि गम्भीर अपराधमा दोषी ठहर भएका थुप्रैले माफी पाएका छन् । ती मध्ये एक हुन् तत्कालीन समयमा तरुण दलका क्षेत्रीय सभापति रिगल भनिने योगराज ढकाल । उनी पनि रिहा भएका छन् । २०७२ असार २८ मा बाँकेको नेपालगन्ज ७ गगनगन्जका २८ वर्षका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा २०७६ फागुन २८ मा उच्च अदालत नेपालगन्जले उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।

तरुण दलको मान्छेलाई छाडेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । उनले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन् । त्यस्तै अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको आरोपसमेत लगाएका छन् । ओलीको टिप्पणी छ, ‘राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुसीका साथ स्वीकार्नु हुन्छ ।’
आममाफीका विषयमा जुन दलका नेताले जे भनेपनि माफी दिने विषयमा भने कुनै दल कम छैनन् । माथिका केही प्रतिनिधि घटनाबाट यो स्पष्ट हुन्छ ।त्यसैले अरु दलले यस विषयमा विरोध गर्न मिल्ला । तर कांग्रेस, एमाले र माओवादीले चाहिँ विरोध गर्नुको कुनै तुक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *