काठमाडौं । गत असोजमा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे । व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित मिश्र राप्रपामा पार्टी प्रवेश गरेका थिए । पार्टी एकतामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरेका थिए र घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भए । चुनावको मुखमा राप्रपा प्रवेश गरेपछि विवेकशील साझा पार्टीलाई अलपत्र पारेको भन्दै मिश्रको आलोचना पनि भएको थियो । राप्रपा प्रवेश गरेसँगै मिश्र मंसिरमा भएको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकको उम्मेदवार बने । तर अघिल्लो निर्वाचनमा जस्तै मिश्र काग्रेस उम्मेदवार प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भए
। निर्वाचनमा राप्रपाले प्रत्यक्षमा सात सिट जित्यो भने समानुपातिकमा सात सिट पायो । संसदमा राप्रपाका १४ जना सांसद भए । निर्वाचनको कुनै दलको बहुमत आएन । सरकार गठनका लागि एक दुई दल मिलेर मात्र नहुने अवस्था आयो । कांग्रेस र एमाले मिलेको भए सरकार सहज रुपमा गठन हुन्थ्यो । तर यी दल नमिल्दा धेरै दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता थियो । निर्वाचनअघिको कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा कुरा नमिलेपछि एमालेको अगुवाईमा राप्रपा, रास्वपा, माओवादीलगायतका दल मिलेर सरकार गठन भयो । सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा राप्रपा, रास्वपा, जनमत र केही स्वतन्त्र सांसदको बैठक बसेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरे र प्रचण्डलाई समर्थन गर्दै राष्ट्रपतिकोमा गए । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेपनि सरकारमा जानु हुँदैन भन्ने पक्षमा मिश्र थिए । उनले कुनै हालतमा पार्टी सरकारमा जान नहुने बताएका थिए ।
राप्रपासहित ७ दलको समर्थनमा प्रचण्ड पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा सरकार गठनमा समर्थन गरे पनि अब सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले तीन सर्त राख्नुपर्ने मिश्रले बताएका थिए । मिश्रले गत मंसिरमा भएको चुनाव प्रचारका क्रममा माओवादी पेन्डुलम भएर बस्ने र बिलय भएर जाने अभिव्यक्ति दिएका थिए । उनले त्यतिबेला भनेका थिए, ‘यो देशमा अबको केही वर्षमा जम्मा तीन वटा पार्टी रहन्छ– राप्रपा, एमाले र कांग्रेस । माओवादी पेन्डुलमजस्तो यता र उता गर्छ। कि त्यो बिलय हुन्छ कि साँघुरिएर बस्छ। त्यसबाहेक क्षेत्रीय दलहरू सानो–सानो अवस्थामा रहन्छ। नेपालमा मुलत तीन पार्टी रहन्छ। तीमध्ये एमाले र कांग्रेस एकै कित्तामा भएका दुई नामका पार्टी हुन्। किनभने यी दुवै पार्टीको लगभग प्रचण्डीकरण भइसक्यो। त्यही बाटोमा हिँडेका छन्। अर्को नरम सम्बर्द्धनवादी धारमा राप्रपा छ। धर्म, संस्कृति, देशको पहिचान जोगाउनुपर्यो, त्यो जगमा प्रगतिशील र रूपान्तरण गर्नुपर्यो भन्ने धार राप्रपाले बोकेको छ, यो धार पर्दैन।’ तर निर्वाचनपछि राप्रपा प्रचण्डलाई प्रधानमन्त्री बनाउनै लाग्यो ।
चुनावमा यस्तो बोलेका मिश्रलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउन राप्रपा लागेपछि धेरैले जवाफ मागेका थिए । त्यसपछि मिश्रले भनेका थिए, ‘समर्थनका सम्बन्धमा प्रचण्डबारेको मेरो पुरानो व्यक्तिगत धारणा यथावत् छ। तर बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गरेको हो । राप्रपाको बैठकले सरकारलाई समर्थन गर्ने निर्णय गरिसक्दा बाहिर अरू केही पनि समर्थन गरिसकेछन् । जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भएपनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्यो, जुन साँचो हो । तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकसित भएको थियो ।’
मिश्रले सरकारलाई दिएको समर्थनको निरन्तरताका लागि राप्रपाले कम्तिमा पनि तीन वटा सर्त राख्नुपर्ने बताए । त्यसमा एउटा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस वा नेपाल दिवस घोषणा गर्नुपर्ने, दोस्रो संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे संकलन गरेको जनमतको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने र जनचाहना अनुरूप निर्णय गर्नुपर्ने र तेस्रो भनेको उच्चस्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने । मिश्रले जति सर्त राख्नुपर्ने भनेपनि राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा गयो । राप्रपा सरकारमा गएर मिश्रले भने अनुसार पुस २७ गते राष्ट्रिय एकता दिवसका दिन सरकारले सार्वजनिक बिदा दियो । त्यति एउटा सर्त चाहिँ पूरा भयो ।
तर यो बीचमा सरकार गठन हुँदाको गठबन्धनमा बिग्रह आयो । अनि एमाले र राप्रपा केन्द्रदेखि प्रदेश सरकारबाट बाहिरिए । मिश्र वर्तमान सरकारको आलोचक नै थिए । तर संसदीय समितिको सभापतिका लागि आइतबार एकाएक राप्रपाले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन गर्ने शर्तमा सहमति गरेपछि भने मिश्र निरास भएका छन् । माओवादी केन्द्रका माधव सापकोटा पूर्वाधार विकास समितिको सभापतिको उम्मेदवारी दिने अन्तिम चरणमा थिए ।कोशी प्रदेशमा सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गर्ने भएपछि उक्त समिति राप्रपालाई दिन माओवादी तयार भयो । त्यसपछि राप्रपाका दीपक सिंहले पूर्वाधार समितिको सभापतिमा उम्मेदवारी दर्ता गराए ।
यस्तो खबर थाहा पाएपछि मिश्रले कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै रहन्छ भन्दै सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गरे । उनले सामाजिक संजालमा कुकुरको तस्बिर राख्दै लेखेका छन्, ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गा–बाङ्गै ! थोरै अपवादलाई छोडेर, कोही–कोही सुध्रिनेवाला छैन । मैले २० वर्ष पत्रकारिता र परोपकारमा संलग्न हुँदा, यो देशको समाज र राजनीतिलाई जति चिनेँ, त्यो भन्दा दर्जनौँ गुणा बढी राजनीति शुरू गरेपछिका ६ वर्षमा चिनेँ विश्वास गर्नोस्, यो देश र भावी पुस्ताको माया (माथि भनिए झैँ थोरै अपवादलाई छोडेर) कुनै राजनीतिकर्मीलाई छैन । भावी पुस्ता सम्झेर मन काटिन्छ तर गरिहाल्न सक्ने केही छैन !’
