अभिनेता सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत सार्वजनिक

काठमाडौँ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ ।

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारको अन्तिम इच्छा नै चलचित्र रिलिज गर्नु रहेको बताए ।  उनले भने, “हामीले चलचित्र पूरा गर्न सकेनाँै । तर, उहाँको अन्तिम कामलाई साङ्गीतिक श्रव्यदृश्यकै माध्यमले भए पनि बाहिर ल्याएका छौँ ।” गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले जानकारी दिए ।

“हामीले बर्दियामा अभिनेता ताम्राकारको दृश्यलाई खिचेका थियौँ । काठमाडौँको सेड्युलमा उहाँको अलि पछाडि थियो । त्यही क्रममा दुःखद घटना घट्यो”, निर्देशक गुरुङले भने, “यो हाम्रो निर्माण समूहको तर्फबाट अभिनेता ताम्राकारलाई श्रद्धाञ्जलि हो । उहाँको काम सबैले हेर्न पाउनुहोस् भन्ने लगेर सार्वजनिक गरेका हौँ ।”

कार्यक्रममा अभिनेता ताम्राकारकी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठलगायत उपस्थित थिए । आमा ताम्राकारले आफ्नो छोराको अन्तिम कामलाई दर्शकसम्म प¥ुयाउनु हुने निर्माण समूहलाई धन्यवाद दिए । उनले भने, “उसले यो चलचित्रको लागि निकै समय खर्चिएको थियो । यसमा आफ्नो पात्रलाई लिएर उ निकै मेहनती थियो । यसलाई ठूलो पर्दामा हेर्ने रहर हुँदै गर्दा पनि आज यहाँ हेर्नु प¥यो ।”

उनले आफ्ना पति सानु ताम्राकार यही वियोगका कारण बिरामी भएर अस्पतालमा रहनुभएको जानकारी दिँदै छोरा ताम्राकारको अनुसन्धानमा खटिएका प्रहरीलाई सत्यतथ्य छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरे ।

कलाकार सङ्घका अध्यक्ष निरौलाले पनि ‘सारुकले न्याय पाउनुपर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुआत गरेका थिए । “हामी कसैलाई दोष दिन चाहदैनाँै तर कलाकारसँग जोडिएको र बाहिर विभिन्न किसिमका अड्कलबाजीका खबरहरू आइरहेका छन् । त्यसैले गर्दा यस प्रकरणमा छिट्टै सत्यतथ्य बाहिर आउनुपर्छ भन्ने हाम्रो भनाइ छ”, अध्यक्ष निरौलाले भने ।

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टि श्रेष्ठले पुराना सम्झनालाई स्मरण गरिन् । “उसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समूहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग बिदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माग छ । हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ”, अभिनेत्री श्रेष्ठले भनिन् ।

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरिसकेका थिए । अभिनेता ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *