एकअर्कालाई सुन तस्कर प्रमाणित गर्न दलका नेता कार्यकर्ताको होडबाजी

काठमाडौं । राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपछि बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेको थियो । सुन तस्करी व्यापारी दीपक मल्होत्राले गरेको भन्दै सामाजिक संजालमा व्यापक बनाइयो । त्यतिमात्र होइन एमाले विरोधी दलका कार्यकर्ताले मल्होत्रा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै रहेको तस्बिर राख्दै सुन तस्करी एमाले निकटका व्यापारीले गरेको भन्दै सामाजिक संजालमा अफबाह फैलाउने काम गरे । यसरी पार्टी अध्यक्ष ओलीसँग कुनै कार्यक्रममा मल्होत्रा भएको तस्बिर राखेर अफबाह फैलाएको भन्दै एमाले नेता कार्यकर्ता तथा एमाले समर्थकले पनि प्रधानमन्त्री प्रचण्डसँग मल्होत्रा रहेको तस्बिर राखेर सुन तस्करीकाबारेमा कटाक्ष गरे । सामाजिक संजाल हेर्दा लाग्थ्यो कुन दलका नेतालाई सुन तस्कर कसले पहिला बनाउने भन्ने होडबाजी चलेको थियो ।

यसरी सुन तस्करीमा आफ्नो संलग्नता भएको भन्दै समाचार र सामाजिक संजालमा आएपछि व्यापारी मल्होत्राले भोलिपल्टै पत्रकार सम्मेलन गरी आफ्नो संलग्नता नभएको र बदनाम गरेको भन्दै आपत्ति जनाए । उनले आफूविरुद्ध अफबाह फैलाउनेविरुद्ध कानुनी उपचार खोज्ने बताए ।

त्यसैगरी कम्बोडिया भ्रमणबाट फर्केका एमाले अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर समाचार आएको भन्दै आपत्ति जनाए । अध्यक्ष ओलीले त सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाए । ओलीले प्रश्न मात्र उठाएनन् एमालेले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक नै अवरुद्ध गर्यो । राजनीतिक नेतृत्वको सेटिङ विना यति ठूलो परिमाणमा सुन तस्करी हुन नसक्ने भन्दै एमालेले गृहमन्त्रीको राजीनामा मागेको हो ।  आइतबारमात्रै राजश्व अनुसन्धान विभागको टोलीले ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ ।

उनी पक्राउ परेसँगै सुन प्रकरणमा माओवादी पार्टीका उच्च पदस्थ व्यक्तिहरुसँगको कनेक्सन हुनसक्ने आधार देखिएको आशंका गरिएको छ । छिरिङ र उनकी श्रीमती अमला रोकाले पटक–पटक माओवादीका नेताहरुसँग भेट्ने गरेको खुलेको छ। पक्राउ परेका छिरिङ माओवादीका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगरसँगै बसेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यी तस्बिर राखेर एमाले नेता कार्यकर्ताले सुन तस्करीमा माओवादीको हात रहेको स्पष्ट भएको भन्दै समाजिक संजालमा भाइरल बनाउने र समाचार बनाउने गरेका छन् । यसरी नेताहरुसँग उनीहरु बसेका तस्बिर सार्वजनिक भएपछि दलका नेताहरुले त्यो पारिवारिक र कार्यक्रममा भएको भेटको तस्बिर भन्दै त्यसको प्रतिरक्षा गरिरहेका छन् । तर सामाजिक संजालमा भने फलानो नै सुन तस्कर हो भन्दै एउटा दलका कार्यकर्ताले अर्को दलका नेतालाई सुन तस्कर प्रमाणित गर्ने प्रयास गरिरहेका छन् ।

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पनि विभागले पक्राउ गरेको छ । त्यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, रूकमिना सुब्बा, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, र चिनियाँ नागरिक लिन जेछियाङ छन् । उनीहरुलाई राजश्व अनुसन्धान विभागले अदालतसँग अनुमति लिई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । राजश्व अनुसन्धान विभागले छुट्टै छानबिन समिति गठन गरी यसबारेमा अनुसन्धान गरिररहेको छ भने उसले नेपाल प्रहरीसँग पनि सहयोग मागेको छ ।

विभागले यी व्यक्ति मात्र पक्राउ गरेको छैन, उसले हङकङस्थित विमानस्थल भन्सारमा पनि पत्राचार गरि यसबारेमा अनुसन्धान गरिरहेको छ । त्यस्तै टोखाको गोदामबाट विभागको टोलीले सुन गाल्ने केही मेसिनसमेत बरामद गरेको छ । त्यस्तै रेडी ट्रेडको गोदाममा छापा मारी सामान बरामद पनि गरेको छ । राजश्व अनुसन्धान विभागले अनुसन्धानबाट सुन तस्करीको गिरोह र उनीहरुको कनेक्सनकाबारेमा केही न केही पक्कै पत्ता लगाउला । तर सामाजिक संजाल हेर्दा विभागले अनुसन्धान गर्ने नपर्ने गरी सुन तस्कर प्रमाणित गर्ने काम भइरहेको छ । कतै यसले विषयान्तर हुने त होइन भन्ने आशंका उब्जिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *