के काठमाडौंको सबैभन्दा ठूलो ट्राफिक समस्या उच्च ‘स्पिड’ मात्र हो ?

रञ्जनकुमार दाहाल ।

बल्ल बल्ल ऋण लिएर काठमाडौं उपत्यकामा आधा रिङरोड फराकिलो सडक बन्यो ! तर समय मिलाएर समय खेर नफाली आफ्नो कर्म गर्ने ६० किलोमटिर प्रतिघण्टाको दरले कार कुदाएर सरकारलाई कर तिर्न हैसियत बनाउने मध्य र निम्न मध्य वर्गलाई सताउन आजकल नयाँ फण्डा शुरु भएको छ ।

५० किलोमिटर भन्दा १ किलोमिमटर बढी स्पिडमा कुदेमा जरिवाना तिराउन घुम्तिमा बल्छी हानेर बसे झैं बसेर ढुक्ने चलन बढेको छ । लाखौं खर्च गरेर क्यामेरा जडान गरिएको छ । के काठमाडौंको सबैभन्दा ठूलो ट्राफिक समस्या उच्च स्पिड मात्र हो ? पैदल यात्री व्यवस्थापन, ट्राफिक बत्ति व्यवस्थापन, ओभर हेड क्रसिङ ब्रिज निर्माण पो प्रमुख कार्य हुनुपर्ने होइन र ? सयवर्ष अघिको जस्तो चोक चोकमा हात हल्लाएर यातायात व्यवस्थापन गर्नेहरुले ५१ किलोमिटर स्पिडमा गुड्यो भनेर जरिवाना तिराउनु हास्यापद छ । आधा रिङरोड एउटा मात्र हाई स्पिड सडक छ काठमाडौंमा अब त्यहाँ पनि ५१ किलोमिटर स्पिडमामा गाडी कुदेमा जरिवाना तिराउन क्यामेरा जडान गरिएको छ । यो पैसाले ओभरहेड ब्रिज वा ट्राफिक लाईट बनाएको भए पैदल यात्रीलाई ठूलो राहत हुने थियो । ‘निषेधले व्यवस्थापन हुन्छ’ भन्ने आदिम सोचबाट बाहिरिन हामीले कहिल्यै जानेनौं ।

अनि यस्ता क्यामेरा जडान गरेपछि अगाडि क्यामेरा छ भनेर ५०० मिटर अगाडि सूचना दिनुपर्ने अन्तर्राष्ट्रिय नियम थाहा छ कि छैन ? त्यस्तै ५० किलोमिटरको नियममा १० किलोमिमटर बढी वा ६० किलोमिमटर स्पिडसम्म नियम मिचेको मानिँदैन भन्ने कुरा पनि धेरै देशमा प्रचलित नियम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *