जेपी गुप्ता।
बि.स. २००७ साल पूर्व नेपाली राष्ट्रियताका बारेमा खासै कुनै सार्वजनिक चर्चा चलेको सुनिदैन । बि.स. २००७ को परिवर्तनपछि यसबारे हलुको छलफल प्रारम्भ भएको भेटिन्छ । यसका दुईटा पक्षहरू जन्मिन थाल्यो । पहिलो राज्यका संस्था एवं प्रतीकहरूमा राष्ट्रियतालाई अंकित गर्ने, र दोश्रो जनताका सामूहिक भावनाको आधारमा निर्माण हुने अभिमतमा राष्ट्रियताको आधार बनाउने । पहिलो पक्षको प्रेरक तत्कालिन युवराज जो पछि राजा भए, श्री ५ महेन्द्र थिए भने दोश्रो पक्षका उत्प्रेरक त्यसबेलाका क्रांन्तिकारी नेता बीपी कोइराला थिए।
त्यसबेला राष्ट्रियतालाई विभिन्न पाटपुर्जा जोडेर एक यन्त्र सरह बनाउने काम शुरू भयो। यस निम्ति प्रयोगमा रहेको देवनागरी खस भाषालाई राष्ट्र भाषा ‘नेपाली’ भनियो । यसको प्रवर्द्धनका लागि दार्जिलिङको ‘गोर्खा भाषा प्रचारिणी सभा’ को अनुकरण गर्दै ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ खडा गरियो । पुरानो भेषको लबेदा सुरूवाललाई केही बदलेर तथा त्यससँगै अंग्रेजी कोटलाई जोडेर ‘राष्ट्रिय पोशाक’ निर्धारण गरियो। मानवमा जनक, बुद्ध, सीता आदि, जनावरमा गाई–गैंडा, चरामा डाँफे, रंगमा सिम्रिक आदि लाई एकत्रित गरी ‘राष्ट्रिय विभूति’ ‘राष्ट्रिय चिन्ह’ बनाइयो। राष्ट्रिय गीतको रचना भयो। पुरानो झण्डालाई रूपान्तर गरेर राष्ट्रिय झण्डाको परिकल्पना गरियो। झण्डाको आकारलाई हिन्दू धर्मसँग जोडेर सूर्य चन्द्र तथा रंगको व्याख्या गरियो। संविधानमा ठाउँठाउँमा ‘नेपाली मात्रको’ शब्दावलीहरू राखियो। राजाले स्वयंलाई विष्णुको अवतार भन्दै भगवान शिवलाई मुलुकको आराध्य देव तथा सेनाको लागि ‘शिव’ लाई शक्तिको स्रोत भनी प्रचार गरियो। राजा महेन्द्रले राज्यशक्तिलाई निरंकुशतामा परिणत गरेपछि त प्रतीकात्मक राष्ट्रियताको आधारहरूमा अझ् बदलाव गरियो। “हाम्रो भाषा हाम्रो भेषप्राण भन्दा प्यारो छ” यसैमा जोडियो ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’– राष्ट्रियताको यो प्रतीकात्मक भाष्यमा नेपाली भाषा, लवेदा सुरूवालको राष्ट्रिय पोशाक र राजाको राजतन्त्र र राजाको धर्म हिन्दू धर्मलाई राष्ट्रियताको सबल आधारको रूपमा मान्यता दिइयो ।
बीपी कोइरालाले राष्ट्रियताको नितान्त भिन्न मान्यतालाई अगाडी ल्याए–’राष्ट्रियता भनेको मुलुकको ढुंगा र माटो होइन। यो जनताको विचार हो।’ आज राजाको आवश्यकता देख्नेहरूले बरोबर बीपीको ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ को चर्चा गरेर थाक्दैनन्। लामो समय भयो, करिब ४३ वर्ष भयो। बि.स. २०३७ को जनमत संग्रहका दौरान टुँडिखेलको मैदानबाट बीपीले राष्ट्रियताको त्यस शाही व्याख्यालाई चुनौति दिँदै भने ‘राष्ट्रियता भनेको जनताको विचार हो।’ यो बीपीको अमूर्त विचार थिएनन् । बग्रेल्ती छन् यसबारे बीपीका विचारहरू। ‘मुलुकमा प्रजातान्त्रिक संस्थाहरू–जसको निर्माण जनताको विचारधारा तथा मतबाट हुन्छ, यसको अभावमा राष्ट्रियताको निर्माण हुन सक्दैन’ भनेर उनले दल विहीन पंचायती व्यवस्था र राजाको प्रेरणाले प्रचारित राष्ट्रियताको भाष्यसँग गम्भीर असहमति जनाए बीपीले । आजका धेरै कम्युनिष्टहरू, हिजोका पञ्चहरू तथा मण्डलेहरू जो त्यसबेला बीपीका कटु आलोचना गरेका थिए, तिनले सम्झेको हुनुपर्छ कि तिनको एक आलोचना बीपीले नेपाललाई ‘राष्ट्र भै नसकेको, यो एक प्रशासनिक इकाई मात्र हो’ भने भनाई मै आलोचना गरिएको हुनुपर्छ। जनताको विचारबाट अनुप्रेरित मत (भोट) बाट निर्माण भएको प्रजातान्त्रिक संस्थाहरूबाट मात्र मुलुकमा ‘राष्ट्रियता’ को जग बन्न सक्छ–यो संश्लेषित विचार थियो बीपीको।
आज बीपीका विचारहरूको कोई वारेश छैन। एक्लो बृहस्पतिका झैं प्रदीप गिरी छैनन् । युवा पुस्ताका शंकर तिवारीहरू ‘जयन्ती’ तथा ‘स्मृति दिवस’हरूमा सम्झिने गर्छन् बीपीलाई। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय ‘बीपी भवन’ हैन, बागबजार शंकरदेव कलेज छेऊको ‘शिखर प्रकाशन’ बरू बीपी कोइरालाका विचारहरूको अभिलेखागार भएको छ। इतिहासको राम्रो अध्ययन गरेका साथै बीपीकै जीवनकालमा राम्रो पार्टी कार्यकर्ताको भूमिका निभाएका पेशल निरौलाहरू राष्ट्रियताका अनर्थकारी भाष्यहरू वाचन गर्दैछन् । उनीहरूले आज नेपाली राष्ट्रियताका चार आधारहरू ‘राजा’ ‘हिन्दू धर्म’ ‘जातीय एकता’ र ‘नेपाली सेना’ मा व्याख्या गरिरहेका छन्। राजा फालिए, मुलुक धर्म निरपेक्ष भयो, संघीयता लागू भएर जातीय एकता छियाछिया भएर गयो, अब मुलुकमा राष्ट्रियताको एक मात्र स्तम्भ ‘नेपाली सेना’ थियो–यस उपर योजनाबद्ध प्रहार शुरू हुन लाग्यो भनेर नेपाली राष्ट्रियताको कहिल्यै नरहेको आधारहरूको औचित्यको अपव्याख्या थालेका छन् । के वास्तवमा राजा, धर्म, खस भाषीहरूको राजनीतिक सर्वस्व र नेपाली सेनाको दिनानुदिन विस्तारित हुँदै जाने स्वरूप नेपाली राष्ट्रियताका आधार हुन् त ?
