काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित बिहान ‘महाराजधिराज’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकारहरू पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत सहभागी भएका थिए । शुभमुहूर्तमा सिनेमाका निर्देशकसहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।
निर्देशक परिच्छेद सेनको यो ड्रिम प्रोजेक्ट हो । चलचित्र यही २५ गते सुनसरीबाट सुरु हुनेछ । सुनसरीको श्रीलंका टापुबाट सुरु हुने चलचित्रको छायाँकन सुनसरीमा एक हप्ता हुनेछ । बाँकी छायाँकन काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा ७० दिन हुनेछ ।
यो सिनेमा नबराज थापाले खिच्नेछन् । परिच्छेद सेनको निर्देशन रहेको चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी, सुशील सिटौला छन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।
