समाजवादी मोर्चाप्रति सन्देह

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी उनीहरुले समाजवादी मोर्चा घोषणा गरेका हुन् । उनीहरुले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन्  । मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा गठन गरिएको बताए । नेकपा घोषणाको स्मरण गर्दै उनले भने, ‘राष्ट्रियसभा गृहको यही हल र रोष्ट्रमबाट नेकपा बनाउने घोषणा बनाएका थियौँ । निकै ठूलो भरोसा र अपेक्षा गरेका थियौँ । समाजवादको बाटोमा, आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अगाडि बढाउने विश्वास राखिएको थियो । हामीले कहाँ त्रुटि गर्यौँ, ऐतिहासिक समीक्षा गरौँ ।’ कार्यक्रममा प्रधानमन्त्रीका साथै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपका महाचिव विप्लवले मोर्चा कसैका लागि लक्षित नभएकाले कोही तर्सिनु नपर्ने बताएका थिए ।

मोर्चामा आवद्ध दलका नेताले यसो भनिरहँदा नेकपा एमाले, नेपाल समाजवादी पार्टीलगायतले भने मोर्चाप्रति सन्देह व्यक्त गरेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको बताएका छन् । चार दल मिलेर समाजवादी मोर्चा घोषण गरिएको प्रति इंगित गर्दै भट्टराईले समाजवाद त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण भएको बताएका हुन् । उनले कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनिङका हतियार बनाउने दुष्कर्म नगर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो । कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस् ! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् !’

त्यसैगरी नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा एडल्ट क्लब भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत सचिव भट्टराईले मोर्चा भविष्य नभएको एडल्डहरुको क्लब भएको टिप्पणी गरेका हुन् । उनले भनेका छन्,‘नेत्रविक्रम चन्द नेतृत्वको माओवादीदेखि उपेन्द्र यादव नेतृत्वको जसपा अनि बीचमा प्रचण्ड र माधव नेपाल । नाम समाजवादी मोर्चा ! समाजवादमा पुग्ने क्रान्तिको बाटो, समाजवादी राज्यको चरित्र, क्रान्तिका मित्र र शत्रु, क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिलाई हेर्ने विश्व दृष्टिकोण, २००७, २०४६, २०६२/६३ का क्रान्ति र तिनलाई हेर्ने दृष्टिकोण, आजको संविधानलाई हेर्ने दृष्टिकोण लगायतमा उहाँका बीचमा एकरुपता छ ? यसो हेर्दा भविष्य छोटो भएकाहरुको एडल्ट क्लब जस्तो । जहाँ ईतिहासको बखान हुन्छ तर भविष्यको कुनै सपना हुँदैन । हेर्दै जाऊँ ?’

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चा घोषणालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार सामाजिक संजालमार्फत अध्यक्ष साहले भनेका छन्,‘जनयुद्धकालीन मुद्दामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड्नेहरुलाई के भन्नुहुन्छ ?’

विगतमा यसरी नै तामझामका साथ कार्यक्रम गरी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तर पार्टी एकता लामो समयसम्म टिकेन र पछि दुई पार्टी पुरानै अवस्थामा फर्किएका थिए । यो मोर्चा पनि त्यस्तै हुने हो कि भन्ने धेरैको आशंका छ । त्यस्तै यो मोर्चा कांग्रेस र एमालेलाई दवाव दिन बनाइएको भनेर अनुमान गर्नेहरु पनि धेरै छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेकपा घोषणाको स्मरण गर्दै विगतको कमजोरीबाट पाठ सिकेर मोर्चा घोषणा गरेकाले यो दीगो हुने बताएका छन् । तर अरु दलले भने मोर्चा सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनिङका हतियारको रुपमा प्रयोग हुने आशंका गरेका छन् । मोर्चा कसरी अघि बढ्ला ? यसका लागि भने केही समय कुर्नैपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *