आवेग होइन, ओजपूर्ण अभिव्यक्ति

काठमाडौं । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ ।  पछिल्लो समय संसदले आफ्नो गरिमा र मर्यादा राख्न नसकेको टिप्पणी हुने गरेको छ । बाहिरबाट मात्र होइन संसद सदस्यले नै त्यसलाई स्वीकार गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण र भारतले मुर्रा जातको राँगो दिने विषयलाई लिएर गत सोमबारका प्रतिनिधिसभा बैठकमा नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई व्यंग्य गर्ने काम गरे । ती दलका सांसदले प्रधानमन्त्री राँगो चढेर आएकोसमेत भने । सम्बोधन गर्न प्रतिनिधिसभाको रोष्ट्रममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोल्नै नदिएर एमाले, रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गर्न थाले । प्रधानमन्त्री बोल्न लाग्दा पटक पटक अवरोध गरेर एमाले सांसदहरू संसदीय मूल्य मान्यताकै हुर्मत लिए । त्यसपछि कांग्रेस र माओवादीलगायतका सत्ता पक्षका सांसद पनि कुर्सीबाट उभिएर नाराबाजी गर्न थाले । यस्तो अवस्था सृजना भयो कि सत्ता पक्ष र प्रतिपक्षका सांसद हातहालको स्थिति आउँदैछ ।

यसरी तमासा गर्नेमा पटक पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति, संविधानसभाको अध्यक्ष भइसकेको व्यक्तिको समेत सहभागिता थियो । उनीहरुले संसद अनि आफ्नो सांसद पदको मर्यादा भूलेको भान हुन्थ्यो । स्थिति तनावपूर्ण भएपछि त्यही बीचमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संविधान हातमा लिएर सभामुख देवराज घिमिरेसँग आफूलाई बोल्न समय माग गरे । त्यसअघि एमाले सांसद रघुजी पन्तले बोल्दा पनि सत्तापक्षीय सांसदले हुटिङ गरिरहे । पन्तपछि सभामुख घिमिरेले विश्वप्रकाश शर्मालाई बोल्न समय दिए । पहिलो पटक सांसद बनेका शर्माले पाँच मिनेटसम्म संसदमा कसरी प्रस्तुत हुने भनेर सांसदहरूलाई ट्युसन नै पढाए झैं पढाए ।

उनले कुनै पनि विधेकको सन्दर्भमा वा संसदले लिने निर्णयको सन्दर्भमा सांसदहरुले संविधान र नियमावलीको केन्द्रमा रहेर बोल्नुपर्ने उनले बताए । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले आवेगलाई तिलाञ्जली दिएर विषयमा वस्तुगतमा गम्भीरतापूर्वक छलफल गर्न आवश्यक रहेको उनको भनाई थियो । त्यसक्रममा उनले भने,‘प्रतिपक्ष दलका सदस्यले बोल्दै गर्दा यताबाट आवाज उठाउनु भयो । डिस्टर्व भयो । यताबाट साथीहरुले सही गर्नुभयो म विल्कुल भन्दिन । तर, के नविर्सौं भने एकजना माननीय सदस्यले बोल्दैगर्दा यताबाट कसैले आवाज उठाएर बोल्दै गर्दा त्यो सही भएन म भन्न सक्छु । यो देशको प्रधानमन्त्रीले संसदमा उभिएर बोल्दै गर्दा त्यताबाट चाहिँ सही भएको छ ? भनेर बोल्न सक्नुहुन्छ ?’हामीले गम्भिर बिषयमा छलफल गरिरहेका छौं । त्यसैले म आग्रह गर्न चाहन्छु सदनले लिने कुनै निर्णयको बिषयमा संविधानको केन्द्रमा रहेर बोल्नुपर्छ । चाहे सत्तापक्षका होस् वा प्रतिपक्षका यो विधेयकमा रहेकालाई राख्नुपूर्व विनम्रतापूर्वक अपील गर्न चाहन्छु विषयमा वस्तुगत भएर गम्भिरतापूर्वक छलफल गरौं। आवेगलाई तिलाञ्जली दिऔं ।’

सांसद शर्माले संविधानमा उल्लेख भएको धाराको अक्षर अक्षर केलाएर नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयलाई प्रष्ट पार्न थालेपछि होहल्ला चलिरहेको प्रतिनिधिसभा बैठकमा सन्नाटा छायो । अनि मात्र रोष्ट्रममा उभिइरहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो पूरा सम्बोधन पूरा गरे । प्रधानमन्त्रीको सम्बोधनपछि विपक्षी दलको नेता केपी शर्मा ओलीलाई सभामुखले बोल्ने समय दिए । ओलीले दुई घण्टाजति संसदमा बोले । उनले सम्बोधनको अधिकांश समय मुर्रा जातको राँगोमै केन्द्रित गरे । यस्तो लम्बेतान सम्बोधन गरिरहँदा एमाले, रास्वपा र राप्रपाका सांसदले टेबुल ठटाएर समर्थन त गरेका थिए । तर उनको सम्बोधनलाई लिएर सामाजिक संजालमा भने आलोचना भइरहेको छ । तर, पाँच मिनेट बोलेका कांग्रेस महामन्त्री शर्माका अघि ओलीको भाषण र त्यो तमासा फिक्का सावित भएको विश्लेषण हुन थालेको छ । यसबाट दुई घण्टा बोलेर होइन चाहिने कुरा बोल्नुपर्छ भन्ने कुरा स्पष्ट भयो ।

अघिल्लो दिनको संसदको होहल्लाप्रति मंगलबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदीय अभ्यासमा खारिएकाहरुबाट भएको प्रस्तुतीले संसदप्रति गर्व गर्ने अवस्था गुम्ने चिन्ता व्यक्त गरे । उनले भने,‘म त संसदमा पहिलो सांसद, संसदीय अभ्यासका हिसाबले पहिलो पटक संसदमा उभिएको छु, पञ्चायत फटाएको, बहुदल फटाएको र गणतन्त्रमासमेत अभ्यास गरिरहेका अग्रजहरुका कार्यशैली, अभ्यास, अभिव्यक्तिहरु हेर्दा एकातिर छ, हाम्रा नियमावलीहरु, अभ्यास, नजिरहरु अर्कातिर छन्, कन्फ्युजन, हिजोसम्मको घटना क्रममा आउँदा त्यतिधेरै हाम्रो इज्जत भएको छैन ।’ उनले एकजना मेयरले वडा अध्यक्षसँग दाँजेको प्रसंग कोट्याउँदै अर्जुन पराजुलीको कविता सुनाए । अर्जुन पराजुलीले आज विहान लेखेको कवितामा भनिएको छ, ‘कुन राँगो कुन भैंसी छुट्याउन सक्ने क्षमता भएको भए को सांसद बनेर बसिरहन्थ्यो महोदय, मेरो देशमा ।’ कांग्रेस महामन्त्री शर्मा र माओवादी सांसद सापकोटा दुबै जना पहिलो पटक सांसद बनेका हुन् । संसदमा २०४८ सालदेखि निरन्तर उपस्थित हुँदै आएका नेताहरु पनि छन् । तर पहिलो पटक संसदमा उपस्थित संसद सदस्य शर्मा र सापकोटाले पञ्चायत फटाएको, बहुदल फटाएको र गणतन्त्रमासमेत अभ्यास गरिरहेका अग्रजहरुका कार्यशैली देखेर ट्यूशन पढाउनुपर्ने अवस्था आउनु एकातिर त राम्रो पनि हो । अनि लामो भाषण गरेर होइन ओजपूर्ण अभिव्यक्ति दिनुपर्छ भन्ने उनीहरुले सन्देश दिएका छन् । हामी त पुराना सांसद भन्नेहरुले उनीहरुबाट सिक्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *