रमेश बडाल ।
१. नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्रीले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून वमोजिम पद तथा गोपनियताको शपथ लिनु पर्ने व्यवस्था गरेको छ । संघीय कानूनको रुपमा रहेको शपथ सम्वन्धि ऐन २०७९ अनुसार नेपालको सार्वभौमसत्ता र नेपालको संविधान प्रति पूर्ण वफादार रहन्छु भनी शपथ लिनु पर्ने व्यवस्था गरेको छ ।
२. नेपालको संविधानको धारा ३ ले भौगालिक अखंण्डता सहितको राष्ट्रको व्यवस्था गरेको छ । यसरी नै धारा ४ ले नेपाल स्वतन्त्र, अभिभाज्य, सर्वाभौमसत्ता सम्पन्न राज्य हुने उद्घोष गरेको छ र संविधानको धारा ४(२)ले नेपालको क्षेत्र संविधान जारी हुदाको वखतको क्षेत्र र प्रारम्भ भए पछि प्राप्त हुने क्षेत्र भनी उल्लेख गरेको छ । हाम्रो संविधान जारी हुनु भन्दा २०० वर्ष अगाडि देखिको नेपालको भुभाग परित्याग गर्न किमार्थ सकिन्न ।
३. २०७७ सालमा केपी ओली प्रधानमन्त्री हुनु भएको वखत नेपालको कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नेपालको नक्सा जारी भएको र सो नक्सालाई संविधानको अंगको रुपमा समावेश गरिएको छ ।
४. नेपालको कुनै सरकार तथा प्रधानमन्त्रीलाई नेपालको कुनै भुभाग अन्य कुनै मुलुकलाई दान दिने वा छाड्ने वा सट्टापट्टा गर्ने अधिकार दिएको छैन र प्रधानमन्त्री भारत प्रस्थान गर्नु भन्दा अगाडि बसेको मन्त्रिपरिषद स्वयंले समेत यस्तो अधिकार प्रचण्डलाई दिएको भन्ने कुरा सार्वजनिक भएको थिएन ।
५. यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले भारत भुमिमा रहेको अवस्थामा एकतर्फी रुपमा नेपालको भुभागमाथिको दाबी छाड्ने अभिव्यक्ति दिनु भनेको मुलुक प्रतिको गद्दारी हो । सन् २०१९ देखि विग्रेको नेपाल भारत सम्बन्ध भन्ने प्रचण्डको भनाईको अर्थ २०१९ मा भएको संविधान संशोधनबाट नेपालको भुभाग समेटेर नक्सा जारी गरिनु नै गलत भएको भन्ने देखिन्छ ।
६. प्रचण्डको अन्तरवार्ताबाट उनी सार्वभौमसत्ता र भौगोलीक अखण्डताको विरुद्धको कार्य गरिरहेछन् भन्ने स्पष्ट छ । यो नेपालको संविधान विरुद्धको कार्य हो । नेपालको संविधानको धारा १७(२)(च) को प्रतिवन्धात्मक वाक्यांश को खण्ड (१) र (२) विपरितको कार्य हो ।
७. यस्तो कार्य मुलुक विरुद्धको घात हो । यस्तो भौगोलिक अखण्डता विरुद्ध अभिव्यक्ति दिने र यसको षड्यन्त्र गर्ने कार्य मुलुकी अपराध संहिताको दफा ४९ र ५१ विरुद्धको अपराध हो ।
८. यसमा प्रचण्ड जहाज चढ्नु केही क्षण अघिमात्र नागरिकता ऐन जारी हुनुले प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेल कसका अगाडि घुँडा टेके भन्न स्पष्टै छ ।
९. यस्तो राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारवाही शुरु गरिनु पर्दछ ।
