काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।
काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।
यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।
हिजो सोमबार मात्रै ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो ।
