मोहन लामा रुम्बा ।
पूर्वमन्त्री बद्री न्यौपानेलाई विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमितता भएको ठहर गर्दै २ करोड ४३ लाख ६८ हजार रुपैयाँ बिगो जरिवाना गर्दै थप ९ वर्ष ६ महिना जेल सजाय पनि तोकेको छ । त्यसपछि भोलिपल्ट बद्री न्यौपानेले पत्रकार सम्मेलन गर्दै ग्वाँ ग्वाँ रुँदै म माथि अन्याय भयो मैले भ्रष्टाचार गरेको थिएन भन्दै रोइरहेकोे देखें ! पत्रकारले सोधे– अब तपाईं के गर्नुहुन्छ ? भनेर सोध्दा अब म के गरुँ ? धरौटी राखेर पुनरावेदन गर्न जान पनि सक्दिनँ । त्यत्रो झिटीगुण्टा नै छैन भन्दै ह्वाँ ह्वाँ‘ गर्दै निरीह भएर रोए । त्यही भृकुटीमण्डपको जग्गा भाडा काण्डमा पुर्वमन्त्री टेकबहादुर गुरुङलाई पनि मतियार ठहर गर्दै एक करोड २१ लाख, ८४ हजार चार सय एक जरिवाना तोकियो भने फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकिएको छ तर सजाय भने दुबै गुरुङले भोग्न नपर्ने भयो ।
मिलिजुली राज्यलाई अर्बौं रुपैयाँ नोक्सान गरेको एउटै मुद्दामा एउटा बाहुन जेलमा अर्को गुरुङले माल फिर्ता गरेपछि फच्चे हुने नजीर देखियो ।
ल्हारक्याल लामाले काभ्रेको सामुदायिक वन मासेर गुम्बा बनाएको वन विभागमा परेको मुद्दा रफा–दफा भैसक्यो, त्यही सालमा अर्को बाहुन पण्डित कमलनयनचार्यले त्रिवेणीको वन क्षेत्र भित्र मन्दिर बनाएको उजुरीमा तारिख धाउँदै छन् । त्यति मात्रै हो र ल्हारक्याल लामाको फेला परेको तीन वटा नागरिकता र लकरमा अवैध पेस्तोलको गोलीको मुद्दाको फाइल उहिल्यै पानीले भिजेर कुहेर रफादफा भइसक्यो । यता रवि लामिछाने फतर–फतर भइरहेकोे छ अझै कहिलेसम्म हुँदै जाने हो हेर्न बाँकी नै छ !
एउटा बाहुन डन दिनेश अधिकारी उहिल्यै परमधाम पुगिसक्यो यता दीपक मनाङ्गे, गणेश लामाहरु सांसद मन्त्री पद पड्काउदै बस्दैछन् ।
हरेक कुरालाई जातीय चस्माले हेर्दै जातकै आधारमा उपेक्षित उत्पीडित वर्ग समुदाय भन्दै राजनीतिको चस्माले हेरेर बाहुने सत्ता ! ब्राह्मणवाद भन्दै नाकको पोरा फुलाएर बस्नेहरूले के बुझुन् भने यो पुँजीवादी युगमा जोसँग पुँजी छ राज्यको प्राकृतिक स्रोत साधनदेखि न्याय प्रणालीसम्म सबै त्यसैले त्यही वर्गले उपभोग गर्छ।
निर्मला पन्तको बाबु रामबहादुर बादल भएको भए भृकुटीमण्डपको काण्डमा पूर्वमन्त्री बद्री न्यौपानेको ठाउँमा पशुपतिशमशेर राणा वा विक्रम पाण्डे भएको भए अदालती तस्बिर अर्कै हुने थियो । कुरो पैसाको शक्ति हो क्या ! त्यसैले आजको पुँजीवादी युगमा पैसामा हुन्छ शक्ति । जोसँग पैसा छ त्यो सँग शक्ति छ। नेपालमा सत्र लाख तामाङ जातिको संख्या छ तर सत्र हजार पनि नभएको मडवारीको हातमा देशको ८० प्रतिशत ढुकुटी छ अब भन्नुस् कुन शक्तिशाली होला ? जात हो की जात सँग भएको पुँजी ?
अतः उपेक्षित उत्पीडित अपहेलित दलित जनजाती आदिवासी भन्दै नश्लको साइनबोर्ड बोकेर हिंड्न छोड । आजको युग नश्ल जात भात होइन । पुँजीवादी युगमा पुँजीवादी बन्ने होडबाजीमा प्रतिस्पर्धा गर । त्यही अकुत पुँजीको कारण आज टेकबहादुर गुरुङ, ल्हारक्याल लामा, दीपक मनाङ्गे, गणेश लामाहरु सुसेली बजाएर रेसम फिरिरी‘‘ गाउँदै हिंड्दै छन् । त्यहीँ अर्को निम्सरो पुँजी कम भएको बद्री न्यौपानेहरु ग्वाँ ग्वाँ गर्दैछन् !! कहाँ रह्यो बाहुनवाद ?
