किन चाहियो वीर अस्पतालमा भिभिआइपी उपचार कक्ष ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि बुधबार भारतको नयाँदिल्ली लगिएको छ । बुधबारदेखि नै राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार सुरु भएको छ । पौडेलको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ । चैत १८ मा पेटमा समस्या देखिएपछि पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षणमा भर्ना गरिएको थियो। त्यसबेला उनी पाँच दिन लामो उपचारपछि डिस्चार्ज भएका थिए । राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपका लागि त्रिवि शिक्षण अस्पताल गएका थिए । त्यसक्रममा उनको फोक्सोबाट पानी निकालिएको थियो । तर पानी निकालेपछि समस्या झन् बढेपछि भर्ना गरेर उपचार सुरु गरिएको थियो । त्यसपछि राष्ट्रपतिलाई थप उपचारका लागि बुधबार भारत लगिएको हो । राष्ट्रपतिलाई उपचारका लागि भारत लगिएपछि विभिन्न टिकाटिप्पणी भएका छन् । कसैले स्वदेशमा उपचार सम्भव हुँदाहुँदै भारत लगिएको भन्दै आलोचना गरेका छन् । स्वदेशमै उपचार सम्भव हुँदा पनि उपचारका लागि विदेश जाने प्रचलन ठिक नभएको भन्दै राष्ट्रपतिलाई उपचारका लागि भारत लगिएको भन्दै आलोचना भएको हो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पहलमा राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली पठाएको बताएका छन् । प्रधानमन्त्रीले स्वास्थ्य गम्भीर भएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले पनि एक पटक सुविधासम्पन्न ठाउँमा लैजान भनेकाले राष्ट्रपतिलाई भारत पठाइएको बताए । प्रधानमन्त्रीले राष्ट्रपति पौडेलले नेपालमै उपचार गरेर निको हुने इच्छा राखेको सुनाए। प्रधानमन्त्रीले भने, ‘राष्ट्रपतिले म यहीँ निको हुन्छु भन्नु भएको थियो । तर मैले डाक्टरले जे भन्छन् मान्नुपर्छ भनेको थिएँ । छिट्टै उहाँ स्वास्थ्यलाभ गरेर आउनु हुन्छ।’

वीर अस्पतालमा विशिष्ट व्यक्तिहरुको उपचारका लागि बनाइएका उपचार कक्ष प्रयोगविहीन भएका छन् । विशिष्ट व्यक्तिहरु उपचारकै लागि विदेश नै दौडधुप गर्ने प्रवृत्ति रोक्न वीर अस्पतालले भिभिआइपी उपचार कक्ष निर्माण गरिएको थियो । तर, भिआईपी तथा भिभिआइपीको विदेश यात्रा नरोकिएपछि उपचार कक्ष प्रयोगविहीन भएका हुन् । वीरको स्वास्थ्य सेवाप्रति किन विश्वास भएन यो गम्भीर विषय हो । वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सहरूका लागि छुट्टै कोठा छन्  । यसबाहेक भान्सा र बाथरुम छन् । पञ्चायतकालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो । ०४६ सालपछि भने यहाँ भर्ना भएर उपचार गर्न कुनै पनि भिभिआइपी पुगेका छैनन् । वीरको भिभिआइपी उपचार कक्षको भुइँमा महंगा गलैंचा छ । बिरामीका लागि आकर्षक बेड राखिएको छ । बेडको छेउमा मोनिटर । बिरामीलाई देखिने गरी बस्नका लागि दुवैतर्फ सोफा । कोठाको छेउमा एउटा दराज पनि छ । झ्यालमा आकर्षक पर्दा छन् । भित्तामा आकर्षक पेन्टिङ । र महङ्गा महङ्गा सामान । प्रयोगविहीन उपचार कक्षको व्यवस्थापन र संरक्षणकै लागि वर्षेनी ठूलो रकम खर्च हुने गरेको छ ।

तर स्वदेशमै हुने उपचारका लागि पनि विदेश जाने र लैजाने प्रवृत्ति नहटेको भन्दै डा. रामेश कोइरालाले आपत्ति जनाएका छन् । उनले वीर अस्पतालको भिभिआइपी उपचार कक्ष ‘डिसम्यान्टल’ गरेर दिल्लीको एम्समा बनाइदिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हाम्रा पनि रहर त रामवरणदेखि रामचन्द्रसम्मको उपचार गर्ने थियो नि, तर शोभराजको गरेर थन्किइयो। पीडा छ नि भगुमान । प्रधानमन्त्री श्री पुष्पकमल दाहालजी, कृपया वीर अस्पतालको भिभिआइपी उपचार कक्ष ‘डिसम्यान्टल’ गरेर दिल्लीको एम्समा नै बनाइदिन हुन अनुरोध छ । त्यति गरे सो कक्षले अनाहकमा ओगटेको ठाउँमा बीस शैयाको सर्वसाधारण जनतालाई चाहिने थप ’जनरल वार्ड’ त बन्नेथ्यो । नत्र सुलभ शौचालय बनाए पनि हुन्छ।’

यहाँ राष्ट्रपति उपचारका लागि भारत गएकोमा आपत्ति होइन । हाम्रा अस्पताललाई विश्वास नगरिएकोमा हो । त्यसैले विशिष्ट व्यक्ति विरामी हुने वितिक्कै विदेश जानु नपर्ने गरी वीर अस्पतालको भिभिआइपी उपचार कक्षको उपयोग गर्ने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *