केशवप्रसाद भट्टराई ।
कुरा आजको होइन सन् १८७२ को हो । अमेरिकाका राष्ट्रपति थिए–उलिस्सेस एस ग्रान्ट । आफ्नो दुई घोडे बग्गीमा उनी ह्वाइट हाउस भन्दा अलि बेग गतिले गैरहेका थिए । स्थानीय प्रहरी कार्यालयमा तीब्र गतिमा बग्गी हाक्नेहरूका विरुद्ध उजुरीहरू परिरहेका थिए । राष्ट्रपति ग्रान्टलाई पहिलो पटक स्थानीय प्रहरी अधिकारी विलियम वेस्टले तीब्र गतिमा हाँकेको बग्गी रोके र उनको गल्ती बताए । यस्तो गतिका कारण सडक पार गर्दै गर्दा कसैको ज्यान पनि जान सक्दछ । राष्ट्रपति ग्रान्टले गल्ती स्वीकारे र क्षमा मागे । केही दिनपछि राष्ट्रपति फेरि तीब्र गतिमा बग्गी चलाएर कतै जाँदै थिए । उनको पछिपछि बग्गीहरूको लर्को थियो ।
संयोगले विलियम ग्रान्टले उनलाई देखे र अगाडि गएर लठ्ठी उठाएर बग्गी रोके र भने “ हेर्नोस् महाशय तपाईं मेरो देशको राष्ट्रपति हुनुहुन्छ भन्ने म जान्दछु र म एउटा मामूली प्रहरी हूँ र यो पनि मलाई थाहा छ । तपाईले अघिल्लो पटक मलाई यस्तो गतिमा बग्गी नहाँक्ने वचन दिनुभएको थियो । मैले तपाईंलाई गिरफ्तार गर्नै पर्दछ । त्यसपछि प्रहरी विलियम वेस्ट र राष्ट्रपति ग्रान्ट दुवै जना स्थानीय प्रहरी कार्यालयमा गए । त्यहाँ राष्ट्रपतिले २० डलर जरिवाना तिरे । धेरैबेर उनलाई त्यहाँ राखियो र कागज गराएर पठाइयो । यो पनि जानकारी रहोस् उक्त प्रहरी अफ्रिकी मूलका व्यक्ति थिए । राष्ट्रपतिका सहयोगी र मित्रहरूले उनको गिरफ्तारीको विरोध गरे, होहल्ला मच्चाए ।
उच्च प्रहरी अधिकारीले विलियम वेस्टलाई कारवाही गर्न सक्ने र उनको नोकरी जानसक्ने खवर राष्ट्रपति कहाँ पुग्यो । राष्ट्रपतिले तुरुन्तै उच्च प्रहरी अधिकारीलाई तत्काल उक्त प्रहरीले आफ्नो कर्तव्य पालना गरेको र गल्ती मेरो हो, त्यसैले ऊ दण्डको होइन सम्मान र पुरस्कारको अधिकारी हो भनेर खबर पठाए । अमेरिकी राष्ट्रको अस्तित्व र त्यसको आधार नै कानुनको शासन हो र कानुन सबैकालागि बराबरी हो । अमेरिकी राष्ट्रको जग नै त्यसैमा निर्मित छ । उसको शक्ति र समृद्धिको आधार त्यही कानुनको शासन हो ।
