रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी

प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्ट्यानो रोनाल्डोले पुनरागमन गरेको पहिलो खेलमा नै दुई गोल गरेपछि सिरि ए मा युभेन्टस विजयी भएको छ । आइतबार बेलुकी भएको खेलमा युभेन्टसले स्पेजियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेजियाको मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन रोनाल्डोले दुई, राबियट र मोराटाले एक-एक गोल गरे । खेलको १६ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । ३२ औँ मिनेटमा टोम्मासो पोबेगाले गोल गर्दै स्पेजियालाई खेलमा बराबरीमा ल्याए ।

५६ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोनाल्डोले तीन मिनेट बित्न नपाउदै गोल गर्दै युभेन्टसलाई २-१ गोलको अग्रता दिलाए । रोनाल्डोलाई अक्टोबर १३ मा कोरोना भाइरस पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । रोनाल्डोको शुक्रवार गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आजको खेलमा सहभागी भएका थिए ।

यस्तै ६८ औँ मिनेटमा फ्रेडिको चिएसाको पासमा एन्ड्रियन राबियटले गोल गर्दै युभेन्टसलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए । फ्रेडिको चिएसालाई विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रमा लडाएपछी युभेन्टसले पेनाल्टी पाएको थियो ।

जितसँगै युभेन्टस ६ खेलमा १२ अङ्क जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । स्पेजिया ६ खेलमा ५ अङ्कको साथ १६ औँ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *