काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित निर्माणाधीन सभाहलको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओली हलको निर्माणबारे प्रगति बुझ्न आइतबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुगेका थिए ।
अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपुर्ण कार्यक्रम यही हलमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए ।
मन्त्री श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात् आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिनुभएको थियो । आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उनले शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए ।
विसं २०७६ असोज २० गतेबाट निर्माण शुरु भएको सो हल यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ । करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन हल केसी–समानान्तर जेभिले ५८ करोड २४ लाखमा ठेक्का पाएको हो । विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी गराएका थिए ।
अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, सङ्घीय सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंह, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलगायतको टोली पुगेको थियो ।
