काठमाडौं । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मुद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।
नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले भौतिक दुरी भने कायम नगरेको पाइएको छ । उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको भएपनि नेविसंघको प्रदर्शनमा सहभागीहरुले भौतिक दुरी कायम नगरी प्रदर्शन गरेका हुन् ।
उनीहरुले कोरोना पीडित जनताको उपचारका लागि सरकार उदासिन देखिएको नेविसंघको भनाई छ । प्रदर्शनमा सहभागीहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाईदैन, भ्रष्ट सरकार चाहिँदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।
