कृषि ज्ञान केन्द्रका पाँच जनाविरुद्ध ६६ लाखको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाखौं रकम हिनामिना गर्ने कार्यमा संलग्न कृषि ज्ञान केन्द्रका कालिकोटका निमित्त कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हाइटेक नर्सरी सञ्चालन गर्न भनी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट लिएको ६६ लाख ५० हजार लिई काम नै नगरी फछ्र्यौट गरेका कारण आयोगले सो मुद्दा दायर गरेको हो । सो कार्यमा संलग्न इन्जिनियर, सम्झौता गरी काम नगर्ने सिमनाथ कृषि विकास सहकारी संस्थाका पदाधिकारी र छनोट तथा मूल्यांकन समितिका पदाधिकारीलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

सो मुद्दामा कृषि केन्द्रका तत्कालीन निमित्त प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सब–इन्जिनियर गुरुराज सञ्ज्याललाई विपक्षी बनाइएको छ ।

त्यस्तै, सहकारी संस्था, कालिकोटका अध्यक्ष कमलबहादुर शाही र कोषाध्यक्ष सुरेन्द्रबहादुर शाहीविरुद्धमा पनि मुद्दा दायर गरिएको छ । सो मुद्दामा सहकारी संस्थाले पेस गरेको कार्यसम्पन्न प्रतिवेदन छानबिन नगरी जस्ताको तस्तै मन्त्रालयमा पेस गर्ने समितिका पदाधिकारीहरूलाई पनि विपक्षी बनाइएको छ ।

समितिमा हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दीपककुमार भण्डारी, हीरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा, होमनाथ लम्साल रहेका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *