स्वदेश फर्किदैँ बहराइनका राजकुमारले भने- ‘नेपालमै बसौँबसौँ लाग्यो’

काठमाडौँ । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले हिमाल नै थाहा नभएको आफूलाई हिमाल चढ्दा नेपालमै बसौँबसौँ लागेको बताएका छन् । मनास्लु र लोबुचे हिमालको आरोहण सम्पन्न गरेर शुक्रबार बहराइन फर्कने क्रममा उनले नेपालको प्राकृतिक सौन्दर्यबाट आफू ज्यादै रोमाञ्चित भएको बताएका हुन् ।

उनले आफ्नो अनुभव सुनाउँदै भने, हिमाल चढ्दा र नेपाल बसाइको अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन । यहाँको आतिथ्यदेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यको अनुभव साँच्चै स्मरणीय रह्यो ।

राजकुमारसहितको आरोहण टोलीलाई शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । बिदाइ भेटमा मन्त्री भट्टराईले बहराइनसँगको हवाई उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन आग्रह गरेका थिए । त्यस्तै नेपालका हिमाल आरोहण गरेर पूरै मध्यपूर्वमा नेपालको सौन्दर्यका बारेमा प्रचार भएको भन्दै उनले राजकुमार खलिफाप्रति आभार व्यक्त गरे ।

नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफासहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो । राजकुमारको उक्त आरोहण टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक थिए । उक्त टोलीले ८१६३ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो । मनास्लु हिमाल बेस क्याम्पबाट टोलीले आठै दिनमा सफल आरोहण गरेको थियो । आरोहणका क्रममा टोलीले मनास्लु हिमालको एक हजार नौ सय किलो ग्राम फोहोरमैला सफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *