झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताएका छन् । शुक्रबार झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिए ।
“स्नातकोत्तर तहको प्रमाणपत्र सिरानमा राखेर केही उपलब्धि हुँदैन”, उनले भने, “अब हरेक शिक्षालयले सीपयुक्त शिक्षामा आधारित जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि राज्यले वातावरण बनाउनुपर्छ ।”
प्राचार्य ठाकुरप्रसाद भट्टराईले बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनीयर, अटो मोबाइल, रेफ्रिजेरेटर एण्ड इयर कण्डिशन तथा मेकानिकल विषय पढाउनका लागि सिटिइभिटीबाट स्वीकृित प्राप्त भइसकेको जानकारी दिए ।
हरेक विषयमा ४८ जनाको कोटा रहेको उक्त शिक्षालयले हरेक वर्ष एक सय ९२ विषयगत प्राविधिक जनशक्ति उत्पादन गर्ने उनले बताए ।
चार करोड ६४ लाखमा निर्माण सम्झौता भएको उक्त भवन काठमाडौँको जेभी भाईवा निर्माण कम्पनीले बनाउन ठेक्का लिएको छ । अठार कोठे तीन तले भवन यही आगामी २०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
–