शिरछेदन गरी हत्या गरिएका शिक्षकको समर्थनमा फ्रान्सभर प्रदर्शन

एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी भएका छन् । आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर हत्या गरेका थिए ।

पेरिसमा मानिसहरूले फ्रेन्च भाषामा ’म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री जँ क्यास्टेस्कसँग उनीहरूले ’हामी फ्रान्स हौँ’ भनेर चिच्याएका थिए । पेरिस नजिक रहेको स्कूल छेवैमा स्यामुअल पटीको हत्या गरिएको थियो । त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११औँ व्यक्ति पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन । घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्तसमेत छन् ।

शनिवार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका पिता र फ्रेन्च मिडियाले अतिवादी इस्लामवादी भनेर चिनाएका एकजना धर्मप्रचारकसमेत छन् ।

राष्ट्रपति एमान्यूअल माँक्रोले उक्त हमलाले सबै ’इस्लामिक आतङ्कवादी हमला’को सीमाना पार गरेको र ’अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको’ बताएका छन् । फ्रेन्च प्रधानमन्त्री जँ क्यास्टेक्सले देशभर ठूला जुलुसमा सहभागी मानिसहरूलाई उनकै शब्दमा ’फ्रान्स नडराएको’ र ’आफूहरूलाई विभाजित पार्न नदिने’ बताएका छन् ।

उक्त हत्या त्यस्तोबेला भएको छ, जतिखेर सन् २०१५ मा एउटा व्यङ्ग्य पत्रिका शार्ली एब्डोमा पैगम्बर मोहमदको कार्टुन छापिएको भन्दै भएको एउटा हमलाका आक्रमणकारीमाथिको अदालती सुनुवाइ भइरहेको छ ।

प्रतिआतङ्कवाद अभियोजनर्ताहरूका अनुसार सन्दिग्ध ती हमलाकारी घटनास्थलबाट झण्डै १०० किलोमिटरमा बस्थे । शुक्रवार मध्याह्न उनी पटीले पढाउने स्कूल पुगेर विद्यार्थीहरूलाई ती शिक्षक चिनाउन आग्रह गरे ।

राष्ट्रपति एमान्यूअल माँक्रोले ’अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको’ बताएका छन् । मस्कोमा जन्मिएका चेचेन मूलका १८ वर्षीय अब्दुल्लख ए को ती शिक्षक र विद्यालयसँग कुनै सम्बन्ध थाहा भएको छैन । उनले ती शिक्षक पटी घर जाने बेलामा पछ्याएका थिए । उनले छुरीले पटीको टाउकोमा प्रहार गरी उनको शिरछेद गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *