किन डरायो माओवादी ?

काठमाडौं । शनिबार सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला रहेको बतायो । बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकमा चुनावी समीक्षा भएको र सरकार गठनमा सबै विकल्प खुला राखिएको जानकारी दिएका थिए । उनले भनेमा थिए,‘ बैठकमा समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो । सरकार गठनका लागि अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ ।’ यसको अर्थ वाम गठबन्धनमा पनि सरकार बन्छ भन्ने थियो । माओवादीको यस्तो निर्णयपछि सत्ता समीकरण फेरिन सक्ने आँकलन भएको थियो । बैठकबाट निस्किएर उपाध्यक्ष महराले यसबारे बताएका थिए ।

तर राति सवा सात बजे महराको भनाईको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले खण्डन गर्यो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले समाजिक संजालमा लेखे, ‘हाम्रो पार्टीको आज बसेको पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापूर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको छ।’

प्रचण्डको सचिवालयले खण्डन गरेपनि माओवादीको यस निर्णयबाट नेपाली कांग्रेस भने झस्कियो । माओवादीले बार्गेनिङ गर्न खोजेको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाए । कांग्रेसका नेताहरुले त प्रचण्डले बार्गेनिङ गर्न खोजे सरकार गठनको अरुपनि विकल्प रहेको चेतावनीसमेत दिए । त्यसपछि आइतबार अपरान्ह फेरि माओवादीको पदाधिकारी बैठक बस्यो र सरकार गठनका लागि अहिलेको गठबन्धनको विकल्प नखोजेको निर्णय गर्यो । माओवादी महासचिव देव गुरुङले गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको भन्दै आफूहरु गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उल्लेख गरे । उनले भने, ‘एमालेसँग गठबन्धन गर्ने कुरा विषय प्रवेश नै भएको छैन । त्यस्तो केही कुराकानी नै भएको छैन । अहिले त गठबन्धनमै रहेको हुनाले विकल्पको बारेमा त्यस्तो कुनै कुराकानी भएको छैन ।’

तर बैठक बसेर गरेको निर्णयमा किन दुई घण्टा पनि टिक्न सकेन माओवादी भन्नेमा भने सबै चकित भएका छन् । किनकी शनिबार दिउँसो ३ बजेदेखि झण्डै तीन घण्टा चलेको बैठकले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गर्यो । अनि सवा सात बजे प्रचण्डको सचिवालयबाट खण्डन आयो । अनि आइतबार फेरि पदाधिकारी बैठक बसेर अहिलेको गठबन्धनको विकल्क नखोजिएको बताइयो ।

शनिबारको बैठकको निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको खबर पनि सार्वजनिक भएको छ । माओवादी बैठकको निर्णयकाबारेमा उनीहरुबीच कुराकानी भएको बताइएको छ ।

खासमा निर्वाचनको परिणाम नआइसक्दै भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेट गरिसकेका छन् । भेटमा आगामी सरकारकोबारेमा कुराकानी भएको खबरहरु आएका छन् । निर्वाचन परिणाम आइनसक्दै भारतले नेपालको नयाँ सरकारको बारेमा चासो राखेको राजदूत श्रीवास्तव र प्रधानमन्त्रीबीचको भेटबाट पनि पुष्टि हुन्छ ।

प्रचण्डलाई कतै दक्षिणतिरबाट केही दबाब आएको त होइन ? भन्ने प्रश्न पनि उठेको छ । नत्र भने शनिबार बैठकले एउटा निर्णय गर्यो । त्यसको दुई घण्टा पनि नपुग्दै प्रचण्डको सचिवालयले खण्डन गर्यो । अनि आइतबार फेरि बैठक बसेर प्रचण्डको सचिवालयको खण्डनलाई औपचारिक निर्णयमा परिणत गरियो । कांग्रेससँग बार्गेनिङका लागि मात्र भएको भए दुई घण्टा नटिक्ने निर्णय पक्कै गर्दैनथियो होला माओवादीले । किनकी बार्गेनिङका लागि मात्र भएको भए केही दिन त्यो निर्णय यथावत राख्ने थियो । त्यसो भए किन डरायो त माओवादी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *