काठमाडौं। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
सुनसरी-४ को मतगणना अन्तिम चरणमा पुगेको छ । विवादका कारण रोकिएको स्याङ्जा-२ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ । निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि बढाउन सर्वदलीय बैठकको पहल भइरहेको छ ।
बाजुरामा बुधबारको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएकाले बिहीबार बिहान फेरि बैठक बोलाइएको छ । दोलखाका केही मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनअन्तर्गत बुधबारसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। जसमा कांग्रेस सबैभन्दा धेरै ५४ स्थानको नतिजा आफ्नो पक्षमा पार्दै पहिलो दल बन्न पुगेको छ । प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पनि कांग्रेस ठुलो दल बन्न पुगेको छ । सातै प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये बुधबारसम्म ३ सय २४ स्थानको मतगणना सकिएको छ। जसमा कांग्रेसले सबैभन्दा धेरै १ सय ५ क्षेत्रमा जितेको छ ।
घोषित परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एमाले दोस्रो स्थानमा छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले भन्दा एक लाख बढी मत ल्याएको एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । उसले प्रदेशसभा प्रत्यक्षतर्फ ९० क्षेत्रमा जित निकालेको छ । नागरिक दैनिकबाट