एजेन्सी । बार्सिलोनाका स्पेनिस डिफेन्डर जेराड पिकेले सन्यासको घोषणा गरेका हुन् । पिकेले बिहीबार आफ्नो व्यवसायिक खेल जीवनबाट सन्यासको घोषणा गरेका हुन् ।
३५ वर्षीय बार्सिलोनाका डिफेन्डरको लागि शनिबार स्पेनिस लिग ला लिगा अन्तर्गत अल्मेरियाविरुद्ध घरेलु मैदानमा हुने खेलनै अन्तिम खेल हुनेछ ।
बार्सिलोनाबाट ८ ला लिगा र ३ च्याम्पियन्स लिगको उपाधि जितेका पिकेले स्पेनलाई सन् २०१० मा फिफा विश्वकप र सन् २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि दिलाएका थिए । बार्सिलोनाको एकेडेमीबाट खेल शुरु गरेका पिके सन् २००४ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका थिए ।
त्यसपछि सन् २००८ मा बार्सिलोना फर्किएका पिकेले ६ सय १४ खेल खेल्दै ३० उपाधि आफ्नो नाममा लेखाएका थिए । राष्ट्रिय टोलीमा सन् २००९ मा डेब्यु गरेका पिकेले १ सय २ खेल खेल्दै ५ गोल गरेका छन् । यस्तै उनी च्याम्पियन्स लिगमा सेर्जियो रामोस(१ सय ३५ खेल) पछि सर्वाधिक खेल(१ सय २८ खेल) खेल्ने डिफेन्डर हुन् । उनले च्याम्पियन्स लिगमा १६ गोल गरेका छन् ।