सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता पुग्ला त सहमतिमा ?

काठमाडौं । डा गोविन्द केसीका मागको सम्बन्धमा सरकारी टोली र केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ । थप गृहकार्य आवश्यक भएको भन्दै सरकारी पक्ष र डा. केसीका प्रतिनिधिबीच बिहीबार भएको वार्ता शुक्रबार पुनः बस्नेगरि सकिएको थियो ।

केसी अनशन बसेको २४ दिनमा वार्ता टोली गठन गरेर २५ औं दिनमा सरकारले औपचारिक वार्ता सुरु गरेको हो। बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । डा केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन् । भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट असोज ६ गते काठमाडौं ल्याइएपछि केसी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *