काठमाडौं । सोमबार बिहान कालीमाटी तरकारी बजारको छेउमा भएका २६ वटा माछा पसलमध्ये १५ वटा पसलका व्यापारी सटर तानेर यताउता लागे । महानगरको अनुगमन टोली बजारमा पुगेर फलफुल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मूल ढोकातर्फका १५ वटा पसलका व्यापारी सटर तानेर भागेका हुन् ।
यसक्रममा कसैले ताल्चा नै लगाउन भ्याए भने कसैले भ्याएनन् । व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा जफत गर्दै थियो । ‘आइस हाल्न बिर्सेछु । माछा त्यति त बिग्रेको छैन । अलिअलि मात्र हो ।’ माछा पसलका सञ्चालक मोहम्मद मज्लुम मियाँ आफूलाई बचावट गर्दै थिए ।
व्यापारीहरु भागे त ? कैफियत के हो ? प्रश्नको उत्तरमा महानगरको पशु सेवा विभागका पशु सेवा अधिकृत डम्मरबहादर बम भन्दै थिए—‘माछाको गुणस्तरमा भन्दा, खरिद बिक्री बिल जारी नगरेकोमा व्यापारी आत्तिएका हृुन् । अनुगमनका क्रममा हेरिएका पसलहरुमध्ये धेरैमा दर्ता, नविकरण र खरिद बिक्री बिलमा समस्या देखियो ।’
खरिद बिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो ? भन्ने कुरा थाहा हुँदैन । अनुगमनका क्रममा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले खरिद बिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु भएको बताए । ‘यो अनुगमनको हामी स्वागत गर्छौं । हाम्रा व्यापारीलाई सुध्रिने समय दिनोस् ।’
अनुगमन गर्दा गर्दै आएका काठमाडौं माछा बजार समितिका अध्यक्ष बीरेन्द्रकुमार यादवले भने, ‘कानुन नमान्ने व्यापारीलाई कारवाही गर्न हामी पनि सघाउँछौं ।’



