कठै काङ्ग्रेस, माओवादी र समाजवादीहरू !

केशवप्रसाद भट्टराई ।
१. राष्ट्र र जनताको पक्षमा, मुलुकको उन्नति प्रगतिको लागि आफ्ना लक्ष्य निर्धारण गर्न नसकेपछि त्यत्रा पार्टीहरूको गठवन्धनको एक मात्र लक्ष– ती पार्टीका ठूला विचराहरूको जे भएको सम्पूर्ण वुद्धि र बर्कतः
‘ओली हराऊ’!
नाराः ‘ओली हराऊ’!
घोषणा पत्रः ‘ओली हराऊ’!
रणनीति : ‘ओली हराऊ’!
कार्यनीति : ‘ओली हराऊ’!
अरूको कुरा नगरौँ रे ल !
वीपी, मातृका, सुवर्ण,सरोज प्रसाद, गणेशमान, कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान, महेन्द्र नारायण निधिहरूले नेतृत्व गरेको, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सवैभन्दा स्थापित र प्रतिष्ठित नेपालको एक मात्र दल ओलीसँग डराएर प्रचण्ड,माधव नेपाल –झलनाथ, उपेन्द्र यादवहरूको आडमा चुनावमा जाँदैछ । कठै ! पतनको पनि एउटा सीमा हुन्छ नी !

२. बधाई केपी शर्मा ओलीलाई ! राजनीतिक र नैतिक रूपमा त उनले चुनाव जितिसके । एक जना व्यक्तिविरुद्ध मुलुकका सारा राजनीतिक दलहरू लाग्नै पर्ने बाध्यताले त्यो बताएन ? उनकाविरूद्ध एक्लै कुनै दल उभिनै नसक्ने । उनको शक्तिको उत्कर्ष भनेकै यही हो । राजनीतिमा अब के चाहियो ? कानुनी रूपमा चुनावको परिणाम के हुन्छ , भगवान जानुन् ।

३. तर यी सबै हुँदा हुँदै पनि स्वयम् ओली भने कता कता आत्म विश्वास हराए जस्ता । कता कता अलमलिए जस्ता । हराए जस्ता । उनले कसैको विरोध गर्नै नपर्ने हो । सभ्य, संयमित र शिष्ट शैलीमा उनले आफ्नो कुरा राखे पुग्थ्यो होला । खै कम्युनिस्ट संस्कार जनाएको त होलानी । अर्काको निन्दा गर्नैपर्ने । मुखको तीतो फाल्नै पर्ने ।  जहाँसम्म भोटको कुरा छ, काङ्ग्रेस, माओवादी, समाजवादी, जसपा, राजमोहरूले नै नकारात्मक प्रचारद्वारा उनको पक्षमा भोट आइहाल्छ नी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *