काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताएका छन् ।
शनिबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताएका हुन् ।
उनले पार्टीको बैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको स्पष्ट पारे । उनले भने, ‘जसपाले संर्कीण एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्षहरु गर्यौं, बहसहरु गर्यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यहीँ पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रीय समितिको बिस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्यौ । तर जो मानिसहरु उही पुरानै बाटोमा हिँड्न अभ्यस्त थिए ।’
भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए । जनताका मुद्धालाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भीर छलफल गरी पार्टीको बैठकले आवश्यक निर्णय लिने बताए ।