हिउँदका लागि बोतलमा पानी!

हिले। बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी छ। घर वरिपरि असरल्ल छरिएका कोक, पेप्सी, फेन्टालगायतका प्लास्टिक बोतलमा पानी भर्दै नसुक्ने ठाउँमा थन्क्याउनु दिनचर्या बनेको छ।

त्यसरी पानी जम्मा गर्नेमा मोरङको पाटीगाउँको थामडाँडाका मोहन राई एक हुन्। उनको आँगन र घर वरिपरि करिब दुई हजार बोतल लडेका छन्। उनी बर्खामा घर आसपास जम्मा भएको पानी ती बोतलमा भरेर हिउँदका लागि जोहो गरिरहेका छन् ।

खानेपानीको कुनै पनि स्रोत नभएकाले हिउँदमा पानीको सङ्कट टार्न दुवै जिल्लामा पर्ने यस क्षेत्रका बासिन्दाले बर्खाको पानी यसरी नै बोतलमा भरेर राख्नुपरेको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–५ र मोरङको केराबारी गाउँपालिका–१ पाटीगाउँमा पर्ने यो क्षेत्रमा बर्खाबाहेक अन्य समयमा खानेपानीको हाहाकार हुन्छ। डाँडामा रहेको बस्तीमा हिउँदका लागि बर्खामै बलेसी तथा नजिकैको अन्य स्रोत प्रयोग गरी पानी जम्मा गरेर राख्नुपर्छ। ड्रम, घैँटो र बोतलमा राखेको पानीकै भरमा यहाँका बासिन्दा वर्षको छ महिना गुजार्न बाध्य छन्। यसरी जम्मा गरिएको पानी हिउँदमा कपडा धुन, सिँचाइ तथा बस्तुभाउलाई दिन प्रयोग गर्ने गरेको स्थानीय विजय राई बताउन्छन् ।

यस क्षेत्रमा पर्ने मोरङको केराबारी गाउँपालिका–१ तर्फ थामडाँडा सुर्के र जैतुनपार्क गरी तीन टोलमा करिब एक सय परिवारको बसोबास छ। त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकातर्फका चुलीध्वजे, पल्लोध्वजे, बालुवाटार, भद्राक्ष, ओडारे टोलमा करिब १५० परिवार बसोबास गर्छन्। दुवै जिल्लाका २५० परिवारका करिब एक हजार व्यक्तिले पानीको समस्या भोग्दै आएका छन्।

यस क्षेत्रमा पानीको समस्या उहिल्यैदेखि हो। बाउबाजेले टाढाको खोला–खोल्सीबाट पानी बोकेर ल्याएर जोहो गर्ने गरेका थिए तर पछिल्लो समय ड्रम, विभिन्न पेय पदार्थका बोतल पाउन थालेपछि केही वर्षयता स्थानीयवासीले बर्खाको पानी जोहो गर्न थालेका हुन्। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *