काठमाडौँ । नेपालीहरुका लागि रोजगारको आकर्षक गन्तब्यस्थल मानिएको चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा नयाँ कोरोना संक्रमित नभेटिएको तीन महिना पूरा भएको छ । चार हजारभन्दा बढी नेपाली रहेको मकाउमा नयाँ संक्रमण नभेटिएको ९१ दिन भएको त्यहाँको श्रम मामिला विभागले जनाएको छ ।
मकाउद्वारा सार्वजनिक विदेशी कामदारको सूचिमा नेपाल चौथौँ स्थानमा रहेको छ । हाल त्यहाँ ४ हजार २ सय ३० नेपाली छन् । नेपालीभन्दा बढी संख्यामा रहेका विदेशीहरुमा फिलिपिन्सका (३२,३७४), भियतनामका (१२,९५३) र इन्डोनेसियाका (६,१०१) नागरिक छन् ।
जनावरी २२ तारिख कोभिड–१९को पहिलो संक्रमित भेटिएको मकाउमा हालसम्म ४६ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना स्थानीयस्तरमा भेटिएका हुन भने ४४ जना अन्य मुलुकबाट संक्रमित भएर पुगेका हुन् । स्वास्थ्य विभागले जनाएअनुसार मकाउमा काेराेनकाे कारण कसैकाे ज्यान गएकाे छैन ।
मकाउमा स्थानीयस्तरमा कोरोनाको संक्रमण नदेखिएको ६ महिना पुगिसकेको छ भने तीन महिनायता विदेशबाट गएकामा समेत कोरोना नदेखिएको व्यूरोलाई उद्धृत गर्दै मकाउ न्यूजले जनाएको छ ।
