योगेश भट्टराई ।
कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नुभयो । उहाँहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरि तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवन उपयोगी जवाफ फर्काएँ । समाजवादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु –“कमरेड माधव नेपाल दुईसय बर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”
कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. उहाँमा थुप्रै राम्रा गुणहरु छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतारचढाब रहेका छन् र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा उहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौं ।
४. छैठौ महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट उहाँ पुन पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।
६. आठौ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौं ।
७. नवौ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएंँ ।
११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होइन ।
पुनश्चः कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होइन ।
भट्टराईको फेसबुकबाट
