डलर देखाएर रकम लुट्ने गिरोहका पाँच जना पक्राउ

भक्तपुर । सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित पाँच जनालाई पक्राउ गरेको छ ।

यहाँका व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफुसँग प्रशस्त अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने पाँच जनालाई शुक्रबार प्रहरीले मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी–९ बोडे बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ र सोही ठाउँका ३२ वर्षीय कान्छी तामाङ रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाई पाँच लाख लुटेर फरार भएपछि खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले बोडेबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नेपाली दुई लाख ४२ हजार ९३५, विभिन्न कम्पनीका मोबाइल पाँच थान, दुई थान मोटरसाइकल, डलर भन्दै झुक्याउन तयार गरिएका दुई बण्डल कागजका बिटा बरामद गरेको छ ।

पक्राउ परेको गिरोहले गत साउन ८ गते मध्यपुरथिमि–९ बोडेमा तीन लाख, साउन १९ गते सोही नपा–५ बाट चार लाख, गत भदौ ३१ गते वडा नं २ बाट पाँच लाख, यही असोज ६ गते सोही नपा वडा नं ९ बोडेबाट नौ लाख ८० हजार, असोज ८ गते सूनपा–२ बालकोटबाट पाँच लाख गरेर २६ लाख ८० हजार भन्दाबढी रकम लुटपाट गरेको अनुसन्धानबाट खृुलेको सूचना अधिकारी प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उक्त गिरोहका फरार अन्य व्यक्तिको खोजी जारी राख्दै प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *