धरानबाट विष्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्रीसहित तीन जना पक्राउ

धरान । सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्रीसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत कात्तिक १० गते साँझ ६ः३० बजे धरान उपमहानगरपालिका–८ स्थित तीनकुने धरान चेकपोस्टमा इटहरीबाट धरानतर्फ जाँदै गरेको को.प्र.०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो ।

मिनी ट्रकमा अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोरामा प्याकिङ गरी राखिएको पारदर्शी सेतो ठोस पदार्थ ४७ किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पदार्थ नियन्त्रणमा लिन खोज्दा ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । त्यसपछि उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको थियो ।

परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुसी, काठमाडौं पठाइएको उक्त पदार्थको परीक्षण प्रतिवेदनमा Component of Low Explosive -Gun Powder/Black Powder) अर्थात् कम शक्तिको विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुद भएको उल्लेख छ ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन् । प्रहरीले उनीहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *