काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालले हालसम्म अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुने निर्णय नगरेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटबारे उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले एसपीपीमा सहभागी हुने कुनै सोच नभएको समेत बताएका हुन् ।
उनले नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने बताए । उनले भने, ‘नेपाल सरकारले हालसम्म एसपीपी सहभागी हुने कुनै निर्णय गरेको छैन। कुनै आवद्धता छैन । यस सम्बन्धमा निर्णय गर्ने सोच पनि राखेको छैन।’
उनले नेपालको असंलग्न परराष्ट्रनीतिमा सरकार अडिग रहेको बताए । तर अमेरिकाले भने नेपालको अनुरोधमा एसपीपी स्वीकृत गरिसकेको बताउँदै आएको छ ।
