काठमाडौं । स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचनको लेखाजोखा र समीक्षामा राजनीतिक दलहरु छन् । प्रतिनिधिसभा र प्रदेशको निर्वाचन आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता गर्ने बताइएको छ । तर मिति भने घोषणा गरिएको छैन । तर स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन साह, धनगढीमा गोपाल हमाल, धरानमा हर्क साम्पाङ विजयी भएपछि आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणाको होड नै चलेको छ ।
उम्मेदवारी घोषणा गर्नेमा राजनीतिक दलका भन्दा स्वतन्त्रहरुको संख्या धेरै देखिएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, धनगढी र जनकपुर लगायतका प्रमुख सहरमा मुख्य दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवारले चुनाव जितेपछि धेरैजना हौसिएका हुन् । अहिले देशभर स्वतन्त्र हैसियतका उम्मेदवारहरुको खोजीमा एउटा समूह नै सकृय छ । दलहरुको एकाधिकारभित्र पनि शक्ति र पहुँचमा हुनेहरुको हालीमुहालीबाट आजित मतदाताको भरोसा विकासका काम गर्ने सोच भएका र युवा उम्मेदवारप्रति देखिएकोले अबको निर्वाचनमा स्वतन्त्रको संख्या धेरै नै हुनसक्ने अड्कलबाजी गरिँदैछ ।
सामाजिक अभियन्ता, युवा र स्वतन्त्रप्रति मतदाताको आकर्षण ठूला दलहरुका लागि भने चुनौति हुने देखिन्छ । अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा रञ्जु दर्शनाको पक्षमा लहर ल्याउन जुन समूह सक्रिय थियो, गतआम निर्वाचनमा काठमाडौं क्षेत्र नं १ मा रवीन्द्र मिश्रको पक्षमा लहर ल्याउन जुन समूह सक्रिय थियो, त्यही समूहले अहिले काठमाडौं उपत्याकाका १५ वटै निर्वाचन क्षेत्रमा युवा उम्मेद्वारका पक्षमा लहर ल्याउन सक्रिय छ । बालेनलाई काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव जिताउन सफलता प्राप्त गरेको यो समूहले केही नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौं क्षेत्र नं १ मा सामाजिक,सास्कृतिक अभियन्ता पुकार बम, क्षेत्र नम्बर २ मा पूर्वाधार विज्ञ इन्जिनियर डा. सूर्यराज आचार्य, यसैगरी काठमाडौं क्षेत्र नं ५ मा रन्जु दर्शना , क्षेत्र नं मा ६ गायक सन्जय श्रेष्ठ, क्षेत्र नम्बर ७ मा विराजभक्त श्रेष्ठ, क्षेत्र नम्बर ८ मा सामाजिक अभियन्ता सुमन सायमी, क्षेत्र नम्बर ९ मा रमेश पौडेल र क्षेत्र नम्बर १० मा मानुशी यामी भट्टराईको नाम यो समुहले चर्चामा ल्याएको छ । ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा पूर्व डिआइजीपी रमेश खरेल , क्षेत्र नम्बर २ मा नायिका रेखा थापा र क्षेत्र नम्बर ३ मा माओवादीका सरल सहयात्रीको नाम यो समूहले चर्चामा ल्याएको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरुमध्ये केहीले निर्वाचन क्षेत्रसमेत तोकेका छन् भने अधिकांशले निर्वाचन क्षेत्र तोक्न बाँकी छ ।
स्वतन्त्र तथा साना पार्टीका उम्मेदवारहरुको लहर विशेष गरी राजधानी समेत रहेको काठमाडौं उपत्याकामा देखिएको छ । काठमाडौं उपत्याका भित्र पनि काठमाडौं जिल्लामा स्वतन्त्र उमेद्वार घोषणाको लहर अझ बढी देखिएको छ । पुकार वम सामाजिक अभियान्ता भएपनि लामो समयदेखि शिक्षण पेशामा आवद्ध छन् । उनी पुकार सम्पदा बचाउ अभियानदेखि डा. गोविन्द केसीका हरेक अभियानमा सहभागी हुँदै आएका छन् । त्यस्तै आफूलाई सामाजिक अभियान्ता बताउने हेमराज थापा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापको क्षेत्रबाट चुनाव लड्ने तयारीमा लागेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सुमन सायामीले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देशभर १२ हजार ७ सय ८९ जना स्वतन्त्र उम्मेदवार बनेका थिए । जसमध्ये करिव २ सय जनाले मात्रै चुनाव जिते । ९० प्रतिशत स्थानमा ठूला दलका उम्मेद्वारहरुले नै चुनाव जिते । उनीहरूले बलियो संगठन अनि राष्ट्रिय सञ्जाल भएका दलका उम्मेदवारहरूलाई मज्जाले टक्कर दिए । तर काठमाडौं महानगर पालिका, धरान, जनकपुर र धनगढी उपमहानगरपालिका लगायत सचेत मतदाता भएका पालिकाहरुको मेयर पदमा स्वतन्त्र उमेद्वरले बाजी मारे ।
दलीय व्यववस्थामा स्वतन्त्र उमेद्वारले चुनाव जित्नु सामान्य कुरा होइन । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारले चुनाव जित्दा पनि केही फरक पर्दैन , किनकी स्थानीय तहमा चुनाव जित्नु भनेको सिधै कार्यकारी पदमा पुग्नु हो । तर संसदीय निर्वाचनमा स्वतन्त्र उमेद्वारले चुनाव जित्नु भनेको बहुदलीय व्यवस्थाको औचित्य माथि प्रश्न उठ्नु हो । संसद भनेको कार्यकारी पद होइन । सरकारमा पुग्नका लागि संसदबाट फेरि निर्वार्चित हुनुपर्छ । नेपालकोे संविधानले स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने संभावना छैन । सानो अपवाद बाहेक स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने प्रावधान नेपालको संविधानमा छैन । तर पनि स्वतन्त्र उम्मेद्वार बन्ने लहर र रहर उत्कर्षका पुगेको छ । राजनीतिक दल र नेताहरु समयमै नसच्चिए अबका निर्वाचन उनीहरुका लागि महँगो सावित हुनसक्छ ।
