घोरल मारेको आरोपमा कुकुर थुनामा

मुगु । घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ ।

मुगमकार्मारोङ गाउँपालिका–१, चितैगाउँका च्याम्पा तामाङ, निजका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङलाई गत फागुन २२ गते घोरल चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएको थियो । सो क्रममा उनिहरुका साथमा रहेको कुकुर पनि नियन्त्रणमा लिइएको बताइएको छ ।

जङ्गली जनावर चोरी सिकार आरोपमा मालिक र कुकुरविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशबाट च्याम्पा र दावा छोर्देन १२ जेठमा जनही ७० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए । टासी र छिमेक तामाङ पनि साधारण तारेखमा छुटेका थिए ।

वन कार्यालयले चलाएको मुद्दामा चार जना प्रतिवादी भएको तर कुकुर प्रतिवादी नभएपछि अदालतले पनि त्यस विषयमा केही बोलेको छैन । अदालतले कुकुरको विषयमा केही नभनेपछि वन कार्यालयले उक्त कुकुरलाई थुनेर राखेको जिल्ला अदालतका सूचना अधिकारी विद्याराज बुढाले बताए। घट्टमा अन्न पिस्न जाँदा वनमा घोरल चर्दै गरेको देखेपछि फर्केर घरमा आई सिकारी कुकुर लिएर गई घोरल मारेको दावा छोर्देनले अदालतमा बयान दिएका छन्

छोर्देनले घोरल मारेको गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मारेको घोरल र सिकारी कुकुरसहित चार जनालाई प्रहरीले तत्काल पक्राउ गरी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको थियो ।

यता डिभिजन वन कार्यालयका निमित्त प्रमुख गगन महताराका अनुसार सरकारी वकिलको रायअनुसार कुकुरले नै जङ्गली घोरल मारेको हो भन्ने बयानमा नखुलेको हुँदा उक्त सिकारी कुकुर सम्बन्धित कुकुर मालिकलाई लिखित कागज गरी जिम्मामा लगाउनु भन्ने राय भए पनि कुकुरका मालिक दावा छोर्देन तामाङ फरार भएकाले उक्त कुकुर बुझिलिने मालिक नभएको हुँदा थुनामै रहेको आजको गोरखापत्र दैनिकमा खवर छ । सांकेतिक तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *