काठमाडाैँ । काठमाडौँस्थित चिनियाँ दूतावासले चाङ्मु (तातोपानी) र चिलोङ्ग (केरुङ्ग) नाकाबाट नियमितरुपमा सामान नेपाल ढुवानी हुन नसकेको र त्यसलाई खुलाउन प्रयास जारी रहेको बताएको छ । दूताबासका प्रवक्ता वाङ्ग स्याओ लोङ्गद्वारा जारी विज्ञप्तिमा दुबै नाका सक्दो छिटो खोलेर सुचारु गर्नका लागि चीन र नेपाल दुवैतर्फबाट तदारुकताका साथ काम भइरहेको दूतावासले जनाइएको छ ।
वर्षा र कोरोना महामारीका कारण ती ठाउँबाट सामान आपूर्तिमा पटक पटक समस्या भएको र त्यसको सुधारको लागि नेपाली पक्षले देखाएको चासोलाई चीनले महत्व दिएको दूतावासले जनाएको छ ।
“कोरोना रोकथामका लागि चीन र नेपालबीच सीमा नाकाहरुमा कडाइ गरिएको छ तर नेपालको स्वास्थ्य सामग्री र दैनिक आवश्यकतालाई मध्यनजर गरी चीनबाट नेपालमा एकतर्फी सामान आपूर्तिका लागि चाङ्मु र चिलोङ्ग नाका खुला गरिएको थियो,” दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“वर्षा र महामारीका कारण ती नाकाहरुबाट सामानको ढुवानीमा पटक पटक अवरोध सिर्जना भएको छ ।”
आजै खुल्यो रसुवागढी नाका
चिनियाँ दूताबासबाट विज्ञप्ति सार्वजनिक भएकै दिन आज अपराह्न रसुवागढी नाकाबाट दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।
चीनबाट आयात गरिएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।
अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र भोलि बिहीबार पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
