काठमाडौं । सत्ता साझेदार नेकपा(एकीकृत समाजवादी)को सचिवालय बैठक सकिएपछि आइतबार दिउँसो बाहिर खबर सार्वजनिक भयो कि अहिलेका सबै मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ पठाउने भन्ने । बैठकले यही निर्णय गरेको थियो । पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्न सचिवालय बैठकले शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएपछि उच्च तहका नेताहरूबीच भएको छलफलबाट नयाँ नाम सिफारिस गरिएको हो । एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो । त्यस्तै नयाँ मन्त्रीहरूमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ । त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उनको ठाउँमा केसीलाई ल्याइएको हो ।
नेकपा (एकीकृत समाजवादी) ले आइतबार साँझ नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टीको पहिलेको सहमति बमोजिम नै ६ महिनाका लागि पठाइएको र समयावधि पूरा भएकाले उनीहरूलाई फिर्ता बोलाएको एकीकृत समाजवादीले दाबी गरेको छ ।फिर्ता बोलाउने निर्णय सार्वजनिक भइसक्दा पनि सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडा भने निर्णयबारे अनभिज्ञता प्रकट गरिरहेका थिए । उनीहरुले आपूmहरुलाई फिर्ता बोलाउनेबारे जानकारी नभएको बताए ।
पर्यटनमन्त्री प्रेम आले जसरी एमालेमा छँदा हटाइएका थिए यसपटक पनि त्यस्तैमा परे । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको मन्त्रिमण्डलमा आफूलाई थाहै नदिइ हटाइएको भन्दै पार्टी छाडेका आले अहिले पनि यसैगरी हटाइए । यसरी हटाइयो भन्दै ओलेले फेरि पार्टी छाड्ने हुन् कि त्यो भने समयले देखाउला । पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले एमालेबाट धेरै संख्यामा सांसद ल्याएकाले उनीहरुलाई पुरस्कार स्वरुप सुरुमै मन्त्री बनाइएको थियो । मन्त्रीका लागि चर्चामा रहेका मेटमणि चौधरी लगायतलाई अन्तिम समयमा रोकिएको थियो । अहिले चौधरीले पालो पाएका छन् । खासमा मन्त्री परिवर्तन उसको कामको मूल्यांकन गरेर गर्नुपर्ने हो । तर यहाँ स्वयंम् मन्त्री आफैं किन हटाइयो भन्नेमा अलमलमा छन् ।
नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथमा रहेको धर्मशालामा बतास समूहलाई त्यहाँबाट निकालेको, क्यासिनोको बक्यौता उठाएको लगायतका काम गरेर पर्यटन मन्त्री प्रेमबहादुर आलेको चर्चा भएको थियो । उनको यो कामको धेरैतर्फबाट प्रशंसा पनि भएको थियो । तर उनी पनि हटाइए । यी मन्त्रीले के के काम बिगारे भन्ने त नेपाली जनताले थाहा पाउनु पर्ने हो नि । आठ महिनामा बल्लबल्ल कामको मेसो पाएका बेला किन निकालियो ? पार्टीको भागबण्डा मिलाउन र सांसदहरु फकाउन यसरी गरिएको भन्दै यसको आलोचना सुरु भएको छ ।
यतिमात्र होइन आफ्नो भागमा परेको कोटामा एकीकृत समाजवादीले गैरसांसदलाई पनि मन्त्री बनाउन प्राथमिकता दिएको छ । सिफारिस भएका मध्ये शेरबहादुर कुँवर गैरसांसद हुन् । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहेका उनको कार्यकाल गत फागुन मै सकिएको हो ।यसअघि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा गोविन्द बन्दीलाई मन्त्री बनाइएको थियो । उनी पनि गैरसांसद हुन् । उनी पनि नेकपा एकीकृत समाजवादी निकट मानिन्छन् । नयाँ सिफारिस भएका मन्त्रीको आज नियुक्ति र शपथग्रहण होला । तर आफ्नो कोटामा परेका मन्त्रालय भनेर जुनसुकै बेला जसलाई पनि मन्त्री बनाउने यो प्रक्रिया पक्कै पनि गलत हो । संघीय संसदको निर्वाचन आगामी मंसिरमा हुने करिव करिव निश्चित नै छ । अहिले नियुक्त गरेका मन्त्रीले के नै नौलो काम गर्लान् त यो बीचमा ? आखिर मन्त्रालयको कोठा चोटा बुझ्दैमा कार्यकाल सकिएला । काम बुझे पो गर्नु । आखिर पार्टीबाट भड्किएर अन्त नजाउन् भन्ने शिवाय अरु केही छ त ?
यसबाट माधव नेपालहरुलाई फाइदा त होला तर देशको ‘सिस्टम’ बिगार्ने काम चाहिँ पक्कै पनि भएको छ । आफ्नो कोटामा परेको भन्दै जसलाई जुनसुकै मन्त्रालयको जिम्मा मन लागेको बेला दिने प्रणालीले हामीलाई कता लैजान्छ ? यसखालको राजनीतिलाई अन्त्य गर्न आगामी संसदीय निर्वाचनमा मतदाताले भने पक्कै पनि ख्याल गर्नुपर्नेछ ।
